काठमाडौं । जापान सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पिप्ले–बर्खेखोला सडकखण्ड पुनर्निर्माण कार्य सुरु गरिएको छ।
नेपालका लागि जापानी राजदूत माएदा तोरु र पूर्वाधार विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले संयुक्त रूपमा परियोजनाको शिलान्यास गरेका हुन्।
सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेहका अनुसार जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा उक्त सडकखण्डअन्तर्गत तीन दशमलव दुई किलोमिटर सडक पुनर्निर्माण गरिनेछ।
उनले २०८१ असोज १२ गते आएको बाढीपहिरोका कारण बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुली जिल्लामा करिब ३० किलोमिटर सडकखण्ड क्षतिग्रस्त भएको र त्यसको पुनर्निर्माण तथा मर्मत आवश्यक रहेको जानकारी दिए।
पिप्ले–बर्खेखोला सडकखण्ड पुनर्निर्माणको जिम्मा जापानको सिमिजु कर्पोरेसनले लिएको छ।
योगेहका अनुसार परियोजनाका लागि जापान सरकारले दुई अर्ब ८० करोड येन अनुदान उपलब्ध गराउने गरी २०८२ कात्तिक १३ गते द्विपक्षीय सम्झौता भएको थियो। आवश्यक प्रक्रिया पूरा भएपछि निर्माण कार्य औपचारिक रूपमा अघि बढाइएको जनाइएको छ।




