काठमाडौँ । मसूद पेजेस्कियन ले मध्यपूर्वमा बढ्दो तनाव र क्षेत्रीय चुनौतीको सामना गर्न मुस्लिम राष्ट्रहरूबीच बलियो एकता आवश्यक रहेको बताएका छन्। ईद अल–अधाको अवसरमा विभिन्न मुस्लिम मुलुकका नेतासँग टेलिफोन संवाद गर्दै उनले इस्लामिक एकता सुदृढ गर्दै सबै क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा जोड दिएका हुन्।
इराक, ओमान, कतार, टर्की, ताजिकिस्तान, इजिप्ट, किर्गिजस्तान, अजरबैजान तथा मलेसियाका नेतासँगको संवादमा उनले मुस्लिम राष्ट्रहरूबीच आपसी विश्वास, सहकार्य र सामूहिक समर्थन आवश्यक रहेको बताएका छन्। सामाजिक सञ्जाल एक्समार्फत उनले ईद अल–अधाले मुस्लिम समुदायलाई नजिक ल्याउने विश्वास व्यक्त गरेका छन्।
किर्गिज राष्ट्रपति सादिर जापारोभ सँगको संवादमा पेजेस्कियनले ईद अल–अधालाई विश्वास, बलिदान र एकताको प्रतीकका रूपमा व्याख्या गरेका छन्। उनले क्षेत्रीय सम्बन्धलाई अझ गहिरो बनाउन कूटनीतिक संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गरे।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम सँगको वार्तामा उनले साझा क्षेत्रीय संकट समाधानका लागि मुस्लिम राष्ट्रहरूको एकता अपरिहार्य रहेको बताए। साथै, तेहरान र क्वालालम्पुरबीच आर्थिक, सांस्कृतिक र सामाजिक सहकार्य विस्तार गर्नुपर्नेमा पनि जोड दिए।
इरानी राष्ट्रपति पेजेस्कियनले बाह्य हस्तक्षेपविरुद्ध सामूहिक धारणा निर्माण गर्दै क्षेत्रीय सहकार्यको “नयाँ अध्याय” सुरु हुने विश्वास व्यक्त गरेका छन्।




