काठमाडौं । अष्ट्रेलियाको जनसङ्ख्या २ करोड ८० लाख पुगेको अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क निकाय अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार देशको जनसङ्ख्या वृद्धि निरन्तर जारी रहेको छ।
एबीएसका अनुसार अष्ट्रेलियाको जनसङ्ख्या सन् २०२४ मा २ करोड ७० लाख नाघेको थियो। त्यसपछि करिब दुई वर्षको अवधिमा जनसङ्ख्या बढेर २ करोड ८० लाख पुगेको हो। यो तथ्याङ्क अस्ट्रेलियन इस्टर्न स्ट्यान्डर्ड टाइम (एईएसटी) अनुसार मङ्गलबारसम्मको अनुमानमा आधारित छ।
तथ्याङ्कअनुसार औसतमा प्रत्येक ५९ सेकेन्डमा एक जना विदेशी नागरिक अष्ट्रेलिया प्रवेश गर्छन् भने प्रत्येक दुई मिनेट १६ सेकेन्डमा एक बच्चाको जन्म हुन्छ।
त्यसैगरी, प्रत्येक तीन मिनेट ३३ सेकेन्डमा एक जनाको मृत्यु हुने तथा प्रत्येक दुई मिनेट ३५ सेकेन्डमा एक जना बासिन्दा अष्ट्रेलिया छाडेर विदेश बसाइँ सर्ने अनुमान गरिएको छ।
एबीएसले हालको वृद्धि दर कायम रहेमा अष्ट्रेलियाको जनसङ्ख्या सन् २०३१ सम्म ३ करोड पुग्ने प्रक्षेपण गरेको छ।
यसैबीच, एबीएसले सन् २०२१ यताकै पहिलो राष्ट्रिय जनगणना आगामी अगस्ट महिनामा सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ।




