काठमाडौँ । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुधन गुरुङले आफ्नो सम्पत्तिबारे उठेका प्रश्नहरूको छानबिनबाट आफूले सफाइ पाउनेमा विश्वास व्यक्त गरेका छन्।
रास्वपा गोरखाको पहिलो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सार्वजनिक पदमा रहँदा उठेका प्रश्नहरूको जवाफ दिन आफू तयार रहेको र त्यसैअनुसार छानबिन समितिमा बयान दिएको बताए।
उनका अनुसार बयानका क्रममा केही प्रश्न कडा भए पनि आफूले सबैको स्पष्ट र सहज जवाफ दिएको बताए। गुरुङले छानबिन समितिले तयार पारेको प्रतिवेदन हाल प्रधानमन्त्री कार्यालयमा पुगेको उल्लेख गर्दै अन्ततः आफू निर्दोष ठहरिने विश्वास व्यक्त गरे।
कार्यक्रममा उनले रोचक शैलीमा एउटा प्रसंग पनि सुनाए। सम्पत्तिबारे प्रश्न गर्दा आफूले पनि प्रतिप्रश्न गर्दै समितिसँग हल्का ठट्टा गरेको बताए।
यदि भविष्यमा पुनः गृहमन्त्री बन्ने अवसर आएमा सुरुका दुई महिनासम्म भेटघाट र फोटो खिच्ने कार्यक्रम नगर्न उनले समर्थकहरूलाई आग्रहसमेत गरे।
सम्बोधनका क्रममा उनले पार्टी संगठन सुदृढ बनाउन जिल्ला नेतृत्व जिल्लामै सक्रिय हुनुपर्नेमा पनि जोड दिए। राजधानीमा बसेर जिल्ला नेतृत्व चलाउँदा जनतासँगको सम्बन्ध कमजोर हुने भन्दै उनले स्थानीयस्तरमै सक्रिय नेतृत्व आवश्यक रहेको धारणा राखे।




