२०८३ जेष्ठ २७

अमेरिका द्वारा अलीबाबा, बीवाईडी र बाइडुलाई चिनियाँ सेनासँग सम्बन्धित सूचीमा राख्ने निर्णय

काठमाडौं । संयुक्त राज्य अमेरिकाले चिनियाँ प्रविधि तथा प्रविधि–आधारित कम्पनीहरू अलीबाबा, बीवाईडी र बाइडुलाई चिनियाँ सेनासँग सम्बन्धित संस्थाहरूको सूचीमा समावेश गर्दै प्रतिबन्ध सूचीमा राखेको छ ।

अमेरिकी रक्षा मन्त्रालयले सोमबार सार्वजनिक गरेको अद्यावधिक सूचिमा यी कम्पनीहरूलाई समेत समावेश गरिएको हो । उक्त सूचीलाई अमेरिकाले चिनियाँ “सैन्य कम्पनीहरू” को रूपमा वर्गीकृत संस्थाहरूको वार्षिक अद्यावधिक अभिलेखका रूपमा प्रयोग गर्दै आएको छ । यसपटक सूचीमा समावेश कम्पनीहरूको संख्या १८८ पुगेको छ, जुन सन् २०२५ मा १३४ थियो ।

विभागका अनुसार “चिनियाँ सैन्य कम्पनी” भन्नाले चीनको सेनासँग प्रत्यक्ष वा अप्रत्यक्ष सम्बन्ध भएका, सरकारी नियन्त्रणमा रहेका वा सैन्य–नागरिक एकीकरण रणनीतिमा योगदान पुर्‍याउने संस्थाहरूलाई जनाइन्छ । नयाँ सूचीमा समावेश गरिएका कम्पनीहरूले चीनको राज्य स्वामित्वको सम्पत्ति सुपरिवेक्षण तथा प्रशासन आयोग र उद्योग तथा सूचना प्रविधि मन्त्रालयसँगको सम्बन्धमार्फत सैन्य विकासलाई सहयोग गरेको दाबी अमेरिकी पक्षले गरेको छ ।

यस निर्णयप्रति वासिङ्टनस्थित चिनियाँ दूतावासले कडा आपत्ति जनाएको छ । दूतावासका प्रवक्ताले अमेरिकी कदमलाई “भेदभावपूर्ण र गलत अभ्यास” भन्दै आलोचना गरेका छन् । उनका अनुसार विदेशमा सञ्चालन हुने चिनियाँ कम्पनीहरूले सम्बन्धित देशका कानुन तथा नियमहरूको पूर्ण पालना गर्दै आएका छन्, र अमेरिकाले निष्पक्ष तथा भेदभावरहित व्यवसायिक वातावरण सुनिश्चित गर्नुपर्नेछ ।

यसैबीच, अलीबाबाले आफूलाई सूचीमा राख्ने निर्णयको कुनै आधार नभएको दाबी गर्दै कानुनी चुनौती दिने संकेत गरेको छ । कम्पनीका प्रवक्ताले अलीबाबा न त सैन्य कम्पनी भएको र न त सैन्य–नागरिक एकीकरण रणनीतिको हिस्सा भएको स्पष्ट पारेका छन् ।

यता बीवाईडी र बाइडुले भने यस विषयमा तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।