२०८३ जेष्ठ २७

ल्हेन्दे खोलाको बाढीपछि रसुवागढी जलविद्युत् आयोजना पुनर्निर्माण तीव्र

काठमाडौं ।  गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीका कारण क्षति पुगेको १ सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत कार्य तीव्र गतिमा अघि बढाइएको छ।

बाढीले भोटेकोशी खोलास्थित बाँध संरचनामा क्षति पुर्‍याएपछि आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा प्रभावित भएको थियो। हाल बाँध क्षेत्रमा थुप्रिएका अवरोधहरू हटाउने कार्य द्रुत रूपमा अघि बढिरहेको आयोजनाले जनाएको छ।

आयोजनाका कार्यकारी प्रमुख सत्यराम ज्याख्वका अनुसार बालुवा थिग्र्याउने पोखरी (डिसिल्टिङ बेसिन) मा जम्मा भएका अवरोधहरू हटाइसकिएको छ भने ‘हेडरेस’ सुरुङ तथा विद्युत् उत्पादनसँग सम्बन्धित उपकरणहरूको सरसफाइसमेत सम्पन्न गरिएको छ।

बाढीका कारण कटान भएको बाह्य संरचनाअन्तर्गत ड्याम तथा विद्युत्गृहसम्म पुग्ने पहुँचमार्गमा रहेको पक्की पुलको संरक्षणका लागि दायाँ–बायाँ पर्खाल निर्माण कार्य पनि जारी रहेको छ।

आयोजनाले २०८१ पुस १६ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको थियो। तर २०८२ असार २४ गतेको बाढीले बाह्य ड्याम संरचनामा क्षति पुर्‍याएपछि आयोजना पूर्ण रूपमा बन्द हुन पुगेको थियो। त्यसपछि सुरुङ तथा उपकरणहरूको सफाइ सम्पन्न गरी मङ्सिर २० गतेदेखि पुनः विद्युत् उत्पादन सुरु गरिएको हो।

करिब रु २३ अर्ब ७३ करोड लागतमा निर्माण गरिएको उक्त आयोजनामा ४.८ किलोमिटर लामो हेडरेस सुरुङमार्फत प्रतिसेकेन्ड ८० घनमिटर पानी विद्युत्गृहमा प्रवाह गरिन्छ। त्यहाँ जडान गरिएका तीन फ्रान्सिस टर्बाइनमार्फत अधिकतम १११ मेगावाट विद्युत् उत्पादन क्षमता रहेको आयोजनाका केन्द्र प्रमुख सन्तोष अधिकारीले जानकारी दिए।