काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (बीएमजेड) अन्तर्गत दक्षिण एसिया विभागकी प्रमुख बारबरा शेफर तथा नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन्।
सिंहदरबारस्थित स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–जर्मनीबीच लामो समयदेखि कायम रहँदै आएको मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटवार्ताका क्रममा मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रमा जर्मन सरकारले पुर्याउँदै आएको योगदानको उच्च प्रशंसा गरिन्। विशेषगरी स्वास्थ्य पूर्वाधार निर्माण, डिजिटल हेल्थ प्रवर्द्धन तथा विभिन्न विकास परियोजनामार्फत प्रदान गरिएको सहयोगले स्वास्थ्य सेवा सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले जर्मन सरकारप्रति आभार व्यक्त गरिन्।
मन्त्री मेहताले नेपालको स्वास्थ्य प्रणालीलाई थप प्रभावकारी र पहुँचयोग्य बनाउन जर्मनीको निरन्तर सहकार्य आवश्यक रहेको धारणा समेत राखेकी थिइन्।
जवाफमा राजदूत भोल्ज र दक्षिण एसिया विभाग प्रमुख शेफरले नेपालको विकास प्राथमिकताअनुसार स्वास्थ्यसहित विभिन्न क्षेत्रमा आगामी दिनमा पनि सहयोग, साझेदारी र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
भेटघाटमा जर्मनी सरकारको सहयोगमा नेपालमा कार्यरत संस्थाहरू केएफडब्ल्यु (KfW), जिआइजेड (GIZ) तथा पिटिआई/पिटिबी (PTI/PTB) का प्रमुख एवं प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।




