काठमाडौँ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पताल जलेश्वरमा सर्पदंशका बिरामीको सङ्ख्या पछिल्ला दिनहरूमा निरन्तर वृद्धि भइरहेको छ।
अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मी रामउदित यादवका अनुसार हाल दैनिक औसत पाँच जनासम्म सर्पले टोकेका बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन्।
जिल्लामा केही दिनयता बढ्दो अत्यधिक गर्मीका कारण विषरहित तथा विषालु दुवै प्रकारका सर्पको गतिविधि बढेको र खेतबारी तथा खुला क्षेत्रमा काम गर्ने व्यक्तिहरू बढी जोखिममा पर्ने गरेको उनले बताए। उनका अनुसार अस्पतालमा आउने बिरामीमध्ये अधिकांशलाई विषरहित सर्पले टोकेको पाइन्छ भने केही मात्रामा विषालु सर्पदंशका घटना पनि रहेका छन्।
महोत्तरीमा विषरहित ढोरिया र हरहरा सर्प तथा विषालु प्रजातिमध्ये करेत र गोमन सर्प बढी मात्रामा पाइने गरेको उल्लेख गरिएको छ। तथ्यांकअनुसार गत वैशाख महिनामा २३ जना सर्पदंशका बिरामी उपचारका लागि अस्पताल पुगेका थिए भने जेठ महिनामा सो सङ्ख्या बढेर ५६ पुगेको छ।
जिल्लाका १० नगरपालिका र ५ गाउँपालिकासहित सम्पूर्ण क्षेत्रमा गर्मीयाममा सर्पदंशको जोखिम उच्च रहने गरेको छ। साथै, सीमावर्ती भारतका विभिन्न क्षेत्रबाट समेत बिरामीहरू उपचारका लागि जलेश्वर अस्पताल आउने गरेको अस्पताल प्रशासनले जनाएको छ।
अस्पतालमा सर्पदंश उपचारका लागि आवश्यक एन्टिभेनम औषधि पर्याप्त मात्रामा उपलब्ध रहेको र हाल उपचारमा कुनै समस्या नरहेको जनाइएको छ।
यद्यपि, अस्पतालमा आइसियु कक्षको अभावका कारण विषालु सर्पले डसेर गम्भीर अवस्थामा आउने बिरामीलाई आवश्यक थप उपचारका लागि अन्य स्वास्थ्य संस्थामा रेफर गर्नुपर्ने बाध्यता भने कायम रहेको अस्पताल स्रोतले जनाएको छ।



