काठमाडौं । युवा तथा श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीसँग सम्बन्धित ‘फ्री भिसा, फ्री टिकट’ भन्ने अवधारणा गलत रहेको बताएका छन्।
बुधबार मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथि प्रतिनिधिसभामा भएको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री यादवले उक्त अवधारणा व्यवहारिक नभएको र पुनः परिमार्जन आवश्यक रहेको धारणा राखेका हुन्।
उनका अनुसार विगतमा लागू गरिएको सो व्यवस्था अहिलेको श्रम बजारको वास्तविकतासँग मेल नखाने भएकाले त्यसलाई सुधार गर्नुपर्ने आवश्यकता देखिएको छ।
मन्त्री यादवले उक्त अवधारणालाई सुधार गर्ने उद्देश्यले जेठ २२ गते कार्यदल गठन गरिएको र त्यसलाई ३५ दिनभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको जानकारी दिए।
उनले वैदेशिक रोजगारी प्रणालीलाई वैज्ञानिक र व्यवस्थित बनाउनुपर्ने आवश्यकता औँल्याउँदै करिब १८ सय मेनपावर कम्पनी सक्रिय रहेको तथा ३० लाखभन्दा बढी नेपाली श्रमिक विदेशमा कार्यरत रहेको तथ्य प्रस्तुत गरे।
उनले नेपालले श्रमिक पठाउने व्यवस्था रोजगारदाताले उपलब्ध गराउने सेवा र सुविधाका आधारमा हुनुपर्ने बताए। साथै, उनले नेपाली श्रमिकलाई मर्यादित काम, उचित पारिश्रमिक, कार्यस्थल सुरक्षा, सामाजिक सुरक्षा, आत्मसम्मान तथा आधारभूत जीवनस्तर सुनिश्चित गर्न नसक्ने कुनै पनि देशमा श्रमिक नपठाइने नीति आवश्यक रहेको स्पष्ट पारे।




