२०८३ असार ५

आजको मौसम : पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा तातो लहरको असर

काठमाडौं नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भाग, लुम्बिनी प्रदेशको हिमाली क्षेत्र तथा कोशी प्रदेशका तराईका भू-भागमा सामान्यदेखि आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेशका पहाडी क्षेत्र र मधेस प्रदेशको तराईमा आंशिक बदली रहने अनुमान गरिएको छ भने अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थान, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा कतिपय स्थानमा हिमपात हुन सक्ने अनुमान पनि गरिएको छ।

त्यसैगरी, कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थानमा तातो लहरको प्रभाव रहने तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा गर्मी बढेर ‘तातो दिन’को अवस्था सिर्जना हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने अन्य हिमाली तथा पहाडी क्षेत्र तथा कोशी प्रदेशको तराईमा आंशिक बदली रहने अनुमान गरिएको छ। बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। साथै, कोशी प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।