२०८३ असार ५

विश्वकप फुटबल : दक्षिण अफ्रिकासँग बराबरीमा रोकियो चेक रिपब्लिक

काठमाडौं फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। अमेरिकाको एटलान्टा स्टेडियममा सम्पन्न समूह ‘ए’ अन्तर्गतको खेलमा चेक रिपब्लिकले प्रारम्भिक अग्रता जोगाउन नसक्दा दक्षिण अफ्रिकासँग बराबरीमा चित्त बुझाउनुपरेको हो।

खेलको छैटौँ मिनेटमै मिचल सादिलेकले गोल गर्दै चेक रिपब्लिकलाई अग्रता दिलाएका थिए। पहिलो हाफदेखि नै अग्रता कायम राखेको चेक टोली जितनजिक पुगेको अवस्थामा अन्तिम समयमा पेनाल्टी गोल बेहोर्न पुगेको थियो।

खेलको ८३औँ मिनेटमा डिबक्सभित्र चेक रिपब्लिकका एक खेलाडीले हातले बल छोएपछि दक्षिण अफ्रिकाले पेनाल्टीको अवसर पाएको थियो। उक्त अवसरलाई सदुपयोग गर्दै तेबोहो मोकोनाले गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो।

त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि थप गोल निस्कन नसक्दा खेल बराबरीमा समाप्त भयो। बराबरीसँगै दुवै टोलीले समूह चरणमा एक–एक अंक जोड्न सफल भएका छन्।

समूह ‘ए’ अन्तर्गत आजै हुने अर्को खेलमा मेक्सिको र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुने तालिका रहेको छ।