२०८३ असार १०

रास्वपा महाधिवेशनमा विद्युतीय मतदानको व्यवस्था

काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गर्ने भएको छ। पार्टीको निर्वाचन आयोगका अनुसार प्रतिनिधिहरूले विद्युतीय उपकरणमार्फत उम्मेदवारको नाम र तस्बिर छनोट गरेर मतदान गर्न सक्ने व्यवस्था गरिएको छ।

निर्वाचन प्रक्रियाको पहिलो चरणमा सभापति पदका लागि एक जना र केन्द्रीय समिति सदस्यका लागि ९९ जना चयन गर्न मतदान हुनेछ। यस चरणको मतदान सम्पन्न गर्न करिब छ घण्टा लाग्ने अनुमान गरिएको छ।

पहिलो चरणबाट निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन गरिनेछ। निर्धारित कार्यतालिकाअनुसार मनोनयन प्रक्रिया सुरु गरेपछि पहिलो चरणको मतदान सोही दिन सम्पन्न गर्ने र त्यसपछिको चरणमा पदाधिकारी चयनका लागि निर्वाचन गरिने तयारी गरिएको छ।

महाधिवेशनमा करिब तीन हजार प्रतिनिधिको सहभागिता रहने अनुमान गरिएको छ। विदेशमा रहेका र प्रत्यक्ष उपस्थित हुन नसक्ने प्रतिनिधिका लागि पार्टीको डिजिटल प्लेटफर्ममार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ।

पार्टीका अनुसार विदेशस्थित प्रतिनिधिमध्ये उपस्थित हुन नसक्नेहरूले अनलाइन माध्यमबाट मतदान गर्न सक्नेछन्। निर्वाचन आयोगमा प्रमुखसहित १० सदस्यीय टोली रहेको छ। आयोगका पदाधिकारीहरूले उम्मेदवारी दिन नपाउने भए पनि मतदानको अधिकार भने सुरक्षित रहने व्यवस्था गरिएको छ।

निर्वाचन प्रक्रियालाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन आवश्यक सबै तयारी पूरा गरिएको निर्वाचन आयोगले जनाएको छ।