२०८३ असार १०

अन्तर्राष्ट्रिय योग दिवस आज : स्वस्थ जीवनशैलीका लागि योगमा जोड

काठमाडौं । ‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज नेपालसहित विश्वभर अन्तर्राष्ट्रिय योग दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। हरेक वर्ष जुन २१ मा मनाइने यो दिवसले योगको महत्व, स्वास्थ्य लाभ र जीवनशैली सुधारमा यसको भूमिकाबारे जनचेतना फैलाउने उद्देश्य राखेको छ।

संयुक्त राष्ट्रसङ्घले सन् २०१४ मा अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरेपछि सन् २०१५ देखि विश्वभर यसको औपचारिक रूपमा मनाउन थालिएको हो। योग दिवसको प्रस्ताव भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसङ्घको महासभामा प्रस्तुत गरेका थिए, जसलाई नेपालसहित १७७ देशले समर्थन गरेका थिए।

नेपालमा भने माघ १ गते राष्ट्रिय योग दिवस मनाउने परम्परा रहेको छ। सरकारले २०७२ सालमा मकर सङ्क्रान्तिको अवसर पारेर माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो। हाल नेपालमा माघ १ मा राष्ट्रिय तथा जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै आएको छ।

विशेषज्ञहरूका अनुसार योग र ध्यानले शारीरिक तथा मानसिक स्वास्थ्य सुधार गर्न, तनाव व्यवस्थापन गर्न र स्वस्थ जीवनशैली अपनाउन महत्वपूर्ण भूमिका खेल्छ। पछिल्ला वर्षहरूमा नेपालमा पनि योगप्रति आकर्षण र अभ्यास बढ्दै गएको छ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आज बिहान राष्ट्रिय खेलकुद परिषद् परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा योग अभ्यास प्रदर्शन, यसको महत्वबारे जानकारी तथा स्वस्थ जीवनका लागि योगलाई दैनिक जीवनमा अपनाउनुपर्ने विषयमा विशेष जोड दिइने जनाइएको छ।