२०८३ श्रावण १

बजारमा सुन–चाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुन तोलामा ६०० रुपैयाँ र चाँदी तोलामा ५० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य २ लाख ८७ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ भने सोही परिमाणको चाँदी ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ।

गत शुक्रबार एक तोला सुन २ लाख ८६ हजार ७०० रुपैयाँमा र चाँदी ४ हजार ६४० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार १५५ अमेरिकी डलर र चाँदी ६४ अमेरिकी डलरमा कारोबार भइरहेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।