२०८३ असार ११

अत्यधिक गर्मीका कारण कञ्चनपुरका केही विद्यालय बन्द

कञ्चनपुर अत्यधिक गर्मी बढेपछि कञ्चनपुरका दुई स्थानीय तहले विद्यालयमा बिदा दिने निर्णय गरेका छन्।

बेदकोट नगरपालिकाले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै मंगलबारदेखि शुक्रबारसम्म नगरभित्रका सबै विद्यालय चार दिनका लागि बन्द गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टले जानकारी दिए।

त्यसैगरी, भीमदत्त नगरपालिकाले पनि सामुदायिक तथा संस्थागत विद्यालयमा असार ८ गतेदेखि १९ गतेसम्म गर्मी तथा वर्षे बिदा एकमुष्ट मिलाएर १२ दिन बिदा दिने निर्णय गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार बढ्दो गर्मीलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको हो।

पछिल्लो एक सातादेखि कञ्चनपुरमा अत्यधिक गर्मी बढेको छ। मौसम पूर्वानुमान महाशाखाले तराईका जिल्लामा आगामी तीन दिनसम्म तातो लहर चल्ने सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।