२०८३ असार ११

यात्रु दुर्व्यवहारमा संलग्न १० जना ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौँ । काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई हैरानी दिएको आरोपमा ट्राफिक प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले कोटेश्वर र जडिबुटी क्षेत्रमा सञ्चालित बस काउन्टरमा कार्यरत कर्मचारी, चालक तथा सहचालकलाई नियन्त्रणमा लिएको हो। उनीहरू यात्रु तानातान गर्ने, झोला खोस्ने तथा अन्य अमर्यादित गतिविधिमा संलग्न रहेको आरोप छ।

ट्राफिक प्रहरीका प्रवक्ता नरेशराज सुवेदीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। आवश्यक कानुनी कारबाहीका लागि उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।