काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी पहिलो राष्ट्रिय महाधिवेशन निर्धारित समयभन्दा एक दिन ढिलो गरी सम्पन्न हुने भएको छ।
प्रतिनिधिको अपेक्षाभन्दा बढी सहभागिता र व्यवस्थापकीय चुनौतीका कारण महाधिवेशन एक दिन थप लम्बिएर भदौ १० गतेसम्म सञ्चालन हुने भएको हो।
रास्वपाका सांसद तथा नेता मनिष झाले प्रारम्भिक रूपमा ३ हजार प्रतिनिधिको अनुमान गरिए पनि हाल ४ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी भइसकेको र यो सङ्ख्या ४ हजार ५ सयसम्म पुग्न सक्ने जानकारी दिए। उनका अनुसार विदेशबाट पनि अपेक्षाभन्दा उल्लेख्य रूपमा बढी प्रतिनिधिको उपस्थिति रहेको छ।
पहिलो महाधिवेशन भएकाले केही व्यवस्थापकीय चुनौती र कार्यविधिगत कमजोरी देखिएको स्वीकार गर्दै उनले यसलाई भविष्यका लागि सिकाइका रूपमा लिइएको बताए।




