२०८३ असार ११

रोजगारी र जीविकोपार्जनको माग गर्दै दृष्टिविहीन नागरिकको प्रदर्शन

काठमाडौं । सडकपेटीमा आश्रित दृष्टिविहीन नागरिकहरूले आफ्नो जीविकोपार्जनको अधिकार सुनिश्चित गर्न माग गर्दै सोमबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले काठमाडौं महानगरपालिकाले सडकपेटी, मठमन्दिर तथा सार्वजनिक स्थानहरूमा सानो व्यापार गरेर गुजारा चलाउने अवसरसमेत खोसेको आरोप लगाए। उनीहरूका अनुसार वैकल्पिक रोजगारीको व्यवस्था नगरी जीविकोपार्जनका स्रोत बन्द गरिनु अन्यायपूर्ण भएको छ।

प्रदर्शनमा सहभागी सुदीप ओलीले दृष्टिविहीन नागरिकका लागि राज्यले आधारभूत आवश्यकता तथा सम्मानजनक रोजगारी सुनिश्चित गर्न नसकेको बताए। उनले नगरप्रहरीबाट दुर्व्यवहार हुने, नियन्त्रणमा लिएर घण्टौँ होल्डिङ सेन्टरमा राख्ने तथा महिला दृष्टिविहीनमाथि समेत अभद्र व्यवहार हुने गरेको गुनासो गरे।

प्रदर्शनकारीहरूले आफ्नो योग्यता र क्षमताअनुसार रोजगारीको अवसर उपलब्ध गराउन माग गरेका छन्। रोजगारी दिन नसके बेरोजगार भत्ताका रूपमा प्रतिमहिना २० हजार रुपैयाँ उपलब्ध गराउनुपर्ने उनीहरूको मुख्य माग रहेको छ।