२०८३ श्रावण ४

मेस्सीको दुई गोलमा अर्जेन्टिना विश्वकपको नकआउट चरणमा

काठमाडौं । कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनको प्रेरणामा अर्जेन्टिनाले विश्वकप फुटबल २०२६ को नकआउट चरणमा स्थान सुरक्षित गरेको छ। आज सम्पन्न समूह चरणको खेलमा अर्जेन्टिनाले अष्ट्रियालाई २–० गोलअन्तरले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो।

अमेरिकाको डालासस्थित स्टेडियममा भएको खेलमा मेस्सीले ३८औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको अतिरिक्त समयमा उनले व्यक्तिगत दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे।

यस जितसँगै मेस्सीले विश्वकप इतिहासमा नयाँ कीर्तिमान पनि कायम गरेका छन्। अष्ट्रियाविरुद्धको खेलमा दुई गोल गरेपछि उनले विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्‍याएका छन्। यससँगै उनले जर्मनीका पूर्व स्ट्राइकर मिरोस्लाभ क्लोजको नाममा रहेको १६ गोलको कीर्तिमानलाई पछि पार्दै विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता खेलाडी बन्न सफल भएका छन्।

यसअघि अल्जेरियाविरुद्धको उद्घाटन खेलमा अर्जेन्टिना ४–१ ले विजयी हुँदा मेस्सीले ह्याट्रिक गरेका थिए। लगातार दोस्रो जित निकालेको अर्जेन्टिनाले समूह ‘जे’ मा ६ अंक जोड्दै शीर्ष स्थान कायम राखेको छ र नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ।

यता, पराजित अष्ट्रियाले दुई खेलबाट ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ। सोही समूहमा रहेका जोर्डन र अल्जेरिया भने हालसम्म अंकविहीन छन्। दुवै टोलीले समान एक–एक खेल खेलेका छन्।