काठमाडौँ। नेपाली कांग्रेसबाट निर्वाचित तीन जना स्थानीय तहका जनप्रतिनिधिहरू दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश गरेपछि पदमुक्त भएका छन्।
२०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित ती जनप्रतिनिधिहरूले पछि दल परिवर्तन गरेसँगै निर्वाचन आयोगले उनीहरूको पद स्वतः रिक्त भएको घोषणा गरेको हो।
आयोगले मंगलबार सार्वजनिक गरेको सूचनामा जुम्ला, नवलपरासी र रुपन्देहीका तीन अलग–अलग स्थानीय तहका प्रतिनिधिहरूको पद रिक्त भएको उल्लेख गरिएको छ।
पद रिक्त हुनेहरूमा जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) अन्तर्गत पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातिमा खातुन अन्सारी, तथा रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ का वडा अध्यक्ष विष्णु ढकाल रहेका छन्।
निर्वाचन आयोगका अनुसार नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले ती जनप्रतिनिधिहरू अन्य दलमा प्रवेश गरेको प्रमाणसहित पद रिक्त गराउन अनुरोध गरेको थियो। सोही आधारमा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम पद रिक्त भएको सूचना प्रकाशित गरिएको आयोगले जनाएको छ।




