काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आजदेखि सुरु हुने महाधिवेशनअन्तर्गत बन्दसत्रमा पाँच वटा प्रमुख प्रतिवेदन प्रस्तुत गरिने भएका छन्।
कार्यसूचीअनुसार पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने महामन्त्रीद्वय कविन्द्र बुर्लाकोटी र भुपदेव शाहले संगठनात्मक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी कोषाध्यक्ष लीमा अधिकारीले लेखा प्रतिवेदन प्रस्तुत गर्नेछिन्। पार्टी निर्वाचन आयोगका प्रमुख भुवन केसीले निर्वाचन आयोगसम्बन्धी प्रतिवेदन पेश गर्नेछन् भने अनुशासन आयोगका प्रमुख रमाकान्त रिमालले अनुशासन आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्।
महामन्त्री भुपदेव शाहका अनुसार हालै चितवनमा बसेको केन्द्रीय समिति बैठकले सबै प्रतिवेदन अनुमोदन गरी महाधिवेशनमा प्रस्तुत गर्ने निर्णय गरिसकेको छ।
महाधिवेशनमा करिब २,५०० प्रतिनिधिको सहभागिता रहनेछ, जसमा करिब २०० जना विदेशमा रहेका नेपालीहरूको प्रतिनिधित्व रहने बताइएको छ। कार्यक्रम सञ्चालनका लागि करिब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।




