२०८३ असार १०

मोरङको कोचनी खोलामा डुबेर बेपत्ता भएकी बालिकाको शव फेला

काठमाडौं । मोरङको रंगेली नगरपालिका–१ स्थित कोचनी खोलामा डुबेर बेपत्ता भएकी ७ वर्षीया बालिकाको शव फेला परेको छ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार मृत भेटिएकी बालिका रंगेली–१ निवासी अनिल खवासकी छोरी एलिना खवास हुन्।

बालिका सोमबार साँझ स्थानीय सञ्जीव चौधरीकी ८ वर्षीया छोरी साबिती चौधरीसँग कोचनी खोलामा पौडी खेल्न गएकी थिइन्। सोही क्रममा एलिना खोलामा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।

खोजी अभियानपछि राति करिब ११ बजे उनको शव फेला परेको हो। घटनास्थलबाट करिब १ सय मिटर तल स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसअघि प्रहरी र स्थानीयले लामो समयसम्म खोजी गरेका थिए।

शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।