काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिका–३ थामेखर्कमा गए राति लाक्पा शेर्पाको तीन तले घरमा आगलागी हुँदा करिब रु १५ लाख बराबरको क्षति भएको छ।
जिल्ला प्रहरी कार्यालय, सङ्खुवासभाका निमित्त प्रमुख प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार आगलागीबाट घरभित्र राखिएको नगद रु ५० हजार, दुई तोला सुन, ३० मुरी आलु, तीन मुरी धान, चार मुरी मकैसहित विभिन्न अन्नपात, भाँडाकुँडा तथा लत्ताकपडा जलेर नष्ट भएका छन्।
घरधनी शेर्पा सुतिरहेको अवस्थामा आगलागी भएको जनाइएको छ। आगलागीको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मङ्गलबारेबाट प्रहरी सहायक निरीक्षक सुदेश चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।



