काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन सुरु हुनुअघि चितवनको चर्को गर्मीले सहभागीहरूको स्वास्थ्यलाई लिएर चिन्ता थियो, तर कार्यक्रम अवधिभरको वर्षाले वातावरण सहज बनाएको छ।
उद्घाटन सत्रअघि सम्भावित गर्मीजन्य समस्या व्यवस्थापनका लागि तीन स्थानमा हेल्थ डेस्क राखिएको थियो भने चिकित्सकसहित स्वास्थ्यकर्मीहरूको टोली तयारी अवस्थामा थियो। दुई जना सहभागी गर्मीका कारण बेहोस भए पनि ठूलो समस्या नदेखिएको चिकित्सकहरूले बताएका छन्।
महाधिवेशन सुरु भएपछि लगातार परेको वर्षाले तापक्रम घटेपछि बाहिरी जिल्लाबाट आएका प्रतिनिधिहरूलाई सहज भएको आयोजकहरूले जनाएका छन्। यसअघि ३९ डिग्रीसम्म पुग्ने चितवनको तापक्रम यस पटक करिब ३४ डिग्रीमै सीमित भएको बताइएको छ।
वर्षाले केही असहजता भए पनि अधिकांश सहभागीले मौसम अनुकूल भएको प्रतिक्रिया दिएका छन्। यसैबीच, फुर्सदको समयमा सहभागीहरू देवघाट, सौराहा लगायतका पर्यटकीय स्थलमा समेत पुगेका देखिएको छ।
महाधिवेशनमा १० हजारभन्दा बढी प्रतिनिधि तथा कार्यकर्ता सहभागी रहेको अनुमान गरिएको छ।




