२०८३ असार १०

देशभरका अस्पतालमा जलन उपचार सेवा विस्तार, विशेष वार्ड सञ्चालनमा

काठमाडौं ।  स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय का अनुसार हालसम्म १४ वटा संघीय अस्पताल र ४ वटा प्रादेशिक अस्पतालमा जलन उपचारका लागि छुट्टै संरचना स्थापना भइसकेको छ। मन्त्रालयले प्रारम्भिक उपचार सेवालाई नजिकै उपलब्ध गराउने लक्ष्यका साथ यो कार्यक्रम अघि बढाएको जनाएको छ।

यस कार्यक्रम अन्तर्गत स्वास्थ्यकर्मीहरूको क्षमता विकासमा पनि जोड दिइएको छ। हालसम्म १०९ जनालाई आधारभूत तालिम र २१७ जनालाई विशेष जलन उपचारसम्बन्धी तालिम प्रदान गरिएको मन्त्रालयले जानकारी दिएको छ। यसले आकस्मिक अवस्थामा प्रभावकारी प्रारम्भिक उपचार सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

मन्त्रालयका अनुसार जलन उपचारमा प्रायः प्लास्टिक सर्जरी लगायत जटिल उपचारको आवश्यकता पर्ने भएकाले छुट्टै अस्पताल निर्माणभन्दा ठूला र सुविधा सम्पन्न अस्पतालभित्रै विशेष युनिट स्थापना गर्नु बढी प्रभावकारी हुने देखिएको छ।

हाल जलन उपचार सेवा विस्तार भएका प्रमुख अस्पतालहरूमा कान्ति बाल अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, डडेलधुरा अस्पताल, भेरी अस्पताल, वीर अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेका छन्।

सरकारले यी सेवा विस्तारबाट जलन पीडितहरूले अब आफ्नै नजिकका अस्पतालमै प्रारम्भिक उपचार पाउने र जटिल अवस्थाको व्यवस्थापन अझ प्रभावकारी हुने अपेक्षा गरेको छ।