२०८३ असार ११

मौसम पूर्वानुमान : आज देशका अधिकांश पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौं । देशभर मनसुनी गतिविधि क्रमशः सक्रिय बन्दै गएको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका अधिकांश क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ भने गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी तराई क्षेत्रमा पनि मनसुनको प्रभाव देखिएको छ। अन्य क्षेत्रमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ।

आज बिहानदेखि कोशी प्रदेशमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ। मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली देखिएको छ। कोशी प्रदेशका केही स्थान र बागमती प्रदेशका एक–दुई क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ। मधेस प्रदेशमा आंशिक बदलीको अवस्था रहने सम्भावना छ भने बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा पनि वर्षा वा उच्च हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ। कोशी प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ।

यसैबीच, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको प्रभाव कायम रहने देखिएको छ। बागमती र गण्डकी प्रदेशका तराई भेगमा पनि तापक्रम बढ्न सक्ने भएकाले अत्यधिक गर्मीको अनुभव हुन सक्छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदली रहने सम्भावना छ। कोशी प्रदेशका तराई क्षेत्रमा समेत बादल लाग्ने क्रम जारी रहनेछ। मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने अनुमान छ भने अधिकांश तराई क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

रातिको समयमा कोशी र गण्डकी प्रदेशका केही स्थान तथा बागमती प्रदेशका एक–दुई पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। साथै कोशी प्रदेशका तराई क्षेत्र तथा मधेस प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना कायमै रहनेछ।

मौसमविद्हरूले चट्याङ, वर्षा, तातो लहर तथा तापक्रम वृद्धिको प्रभाव देखिन सक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। साथै मौसमसम्बन्धी अद्यावधिक सूचना तथा चेतावनी नियमित रूपमा पछ्याउन पनि अनुरोध गरिएको छ।