२०८३ असार १०

रास्वपाको नेतृत्वमा रवि लामिछाने निर्विरोध, बालेन शाहद्वारा शुभकामना सन्देश

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट रवि लामिछाने पुनः सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। अन्य कुनै उम्मेदवारको दाबी नपरेपछि केन्द्रीय निर्वाचन आयोगले उनलाई औपचारिक रूपमा निर्विरोध सभापति घोषणा गरेको हो।

चितवनमा जारी महाधिवेशनको क्रममा मंगलबार उम्मेदवारी दर्ता भएपछि सभापति पदमा कुनै प्रतिस्पर्धा नदेखिँदा लामिछाने पुनः नेतृत्वमा दोहोरिएका हुन्। पार्टीका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावमा उनले सभापति पदका लागि उम्मेदवारी दिएका थिए। त्यसपछि सो पदमा अन्य दाबी नआएपछि उनको पुनः चयन निर्विरोध रूपमा सुनिश्चित भएको हो।

निर्वाचन परिणाम सार्वजनिक भएपछि प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन्। उनले मध्यरातमा रवि लामिछानेसँगको स्केच चित्र साझा गर्दै पार्टीको आगामी यात्राका लागि शुभकामना दिएका छन्।

रोमन नेपाली भाषामा उनले लेखेका छन्, “हाम्रो पार्टीलाई शुभकामना। सबै जना सफल हुनुस्। देशलाई सफल बनाउनुस्।”

महाधिवेशनपछि रास्वपाले आगामी राजनीतिक दिशा, संगठन विस्तार तथा नीति निर्माणलाई अझ सशक्त रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।