काठमाडौं। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालले करिब ४९ अर्ब ८३ करोड रुपैयाँ बराबरको रासायनिक मल आयात गरेको छ। युरिया, डिएपी र पोटास गरी ठूलो परिमाणमा मल भित्रिए पनि धान रोपाइँको मुख्य सिजनमै किसानहरूले पर्याप्त मल पाउन नसकेको गुनासो कायमै रहेको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशमा वार्षिक करिब ७ लाख मेट्रिक टन मल आवश्यक पर्ने गर्छ। यस वर्ष आयातित मलमध्ये युरियाको हिस्सा सबैभन्दा बढी रहेको छ।
सरकारले कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङमार्फत अनुदानमा मल वितरण गर्दै आए पनि खरिद प्रक्रिया, ढुवानी ढिलाइ, वितरण व्यवस्थापनको कमजोरी तथा माग–आपूर्तिबीचको असन्तुलनका कारण हरेक वर्षजस्तै यसपटक पनि किसानले समयमै मल पाउन सकेका छैनन्।
विशेषज्ञहरूका अनुसार आयातमा अर्बौं रुपैयाँ खर्च भए पनि प्रभावकारी वितरण प्रणालीको अभावले कृषि उत्पादनमै असर पर्ने जोखिम बढाएको छ। उता, स्वदेशमै मल उद्योग स्थापना गर्ने चर्चा वर्षौंदेखि चल्दै आए पनि उच्च लागत, कच्चा पदार्थ र ऊर्जा स्रोतको चुनौतीका कारण योजना अझै कार्यान्वयनमा आउन सकेको छैन।




