काठमाडौं। भेनेजुएलाको उत्तर–मध्य क्षेत्रमा बुधबार लगातार दुई शक्तिशाली भूकम्प गएपछि राजधानी काराकाससहित विभिन्न क्षेत्रमा ठूलो क्षति भएको छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (USGS) का अनुसार ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प ३९ सेकेन्डको अन्तरमा गएको हो। भूकम्पको केन्द्रबिन्दु काराकासबाट करिब १६० किलोमिटर पश्चिममा रहेको बताइएको छ।
USGS को प्रारम्भिक मूल्याङ्कनअनुसार ठूलो मानवीय क्षतिको जोखिम उच्च रहेको छ। १० हजारभन्दा बढी मृत्यु हुने सम्भावना ४४ प्रतिशत र एक लाखभन्दा बढी मृत्यु हुने सम्भावना ३० प्रतिशतसम्म रहेको अनुमान गरिएको छ। यद्यपि हालसम्म आधिकारिक रूपमा मृतक वा घाइतेको विवरण सार्वजनिक गरिएको छैन।
रोयटर्सका अनुसार भूकम्पपछि काराकासका धेरै भवनमा क्षति पुगेको तथा केही संरचना भत्किएका छन्। प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेको छ। अस्पतालहरूलाई आपतकालीन अवस्थामा राखिएको छ भने अधिकारीहरूले नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्।
यस भूकम्पलाई पछिल्ला दशकहरूमा भेनेजुएलामा आएको सबैभन्दा विनाशकारी प्राकृतिक घटनामध्ये एक मानिएको छ।




