२०८३ असार ११

रास्वपाको पहिलो महाधिवेशन व्यवस्थापकीय कमजोरीले अस्तव्यस्त, प्रक्रिया ढिलो र विवादित

काठमाडौं। गत आइतबार सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन व्यवस्थापकीय कमजोरीका कारण अव्यवस्थित देखिएको छ। पार्टीले सार्वजनिक गरेको प्रारम्भिक कार्यतालिका अनुसार सम्पूर्ण प्रक्रिया अगाडि नबढ्दा उद्घाटनसत्रदेखि बन्दसत्र र निर्वाचनसम्मका चरणहरू प्रभावित भएका छन्।

महाधिवेशनका क्रममा राजनीतिक, संगठनात्मक तथा अन्य प्रतिवेदनहरू पर्याप्त छलफल बिना नै पारित गरिएको भन्दै आलोचना भएको छ। विचार, सिद्धान्त र मार्गदर्शन जस्ता विषयमा गम्भीर बहस नभएको भन्दै केही प्रतिनिधिहरू निर्वाचन प्रक्रियामा सहभागी नभई महाधिवेशन स्थलबाट फर्किएको पनि बताइएको छ।

सभापति रवि लामिछाने, उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री कवीन्द्र बुर्लाकोटी, अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमाल र कोषाध्यक्ष लिमा अधिकारीद्वारा प्रस्तुत प्रतिवेदनहरू पनि छलफल बिना नै ताली बजाएर पारित गरिएको आरोप छ। यसले विशेषगरी उपसभापति वाग्लेले प्रस्तुत गरेको अर्थ–राजनीतिक प्रतिवेदनमा उल्लेखित प्रदेश संरचना खारेजीको विषयमा प्रतिनिधिहरूबीच असन्तुष्टि र विवाद उत्पन्न गरेको छ।

महाधिवेशनको व्यवस्थापन अत्यन्त कमजोर भएको भन्दै पार्टीकै सांसदहरूले समेत आलोचना गरेका छन्। महाधिवेशन व्यवस्थापन समिति र निर्वाचन आयोगप्रति प्रतिनिधिहरू आक्रोशित बनेका छन्। सुरुमा मंगलबारभित्र सबै प्रक्रिया सम्पन्न गर्ने भनिए पनि सो लक्ष्य पूरा हुन नसकेपछि निर्वाचन प्रक्रिया ढिलाइ भएको हो।

निर्वाचनका लागि मध्यरातदेखि मतदान सुरु गरिएको भए पनि समय तालिका पटक–पटक परिवर्तन गरिएको छ। बिहान १० बजे सक्ने भनिएको मतदान अवधि पछि १२ बजेसम्म लम्ब्याइएको छ।

८० वटा भोटिङ मेसिन प्रयोग गरी मतदान गरिने भनिए पनि व्यवस्थापन प्रभावकारी नदेखिएको भन्दै केही प्रतिनिधिहरू मतदान नै नगरी फर्किएको उल्लेख छ। डिजिटल पार्टीको रूपमा प्रस्तुत गरिएको रास्वपा महाधिवेशन व्यवहारमा परम्परागत राजनीतिक प्रक्रियाभन्दा खासै फरक नदेखिएको टिप्पणी स्वयं प्रतिनिधिहरूले गरेका छन्।