२०८३ असार ११

भक्तपुरका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि, ४८ हजारभन्दा बढी कुखुरा नष्ट

काठमाडौं । भक्तपुर जिल्लाका कुखुरा फार्महरूमा ‘बर्डफ्लू’ (एभियन इन्फ्लुएन्जा) संक्रमण पुष्टि भएको छ। चाँगुनारायण र सूर्यविनायक नगरपालिकाका विभिन्न फार्ममा रोग देखिएपछि प्रभावित कुखुराहरू नष्ट गरिएको पशु सेवा कार्यालयले जनाएको छ।

पशु चिकित्सक डा. अमिक श्रेष्ठका अनुसार चाँगुनारायण नगरपालिका–२, ८ र ९ का फार्ममा पालिएका ३८ हजार ७९५ कुखुरा नष्ट गरिएका छन्। त्यस्तै सूर्यविनायक नगरपालिका–१, ४ र ८ का क्षेत्रमा थप ९ हजार ३७८ कुखुरा नष्ट गरिएको हो।

यसरी दुवै नगरपालिकामा गरी हालसम्म कुल ४८ हजार १७३ कुखुरा नष्ट गरिएको उनले जानकारी दिए। फार्महरूमा बर्डफ्लू संक्रमण पुष्टि भएपछि रोगको फैलावट नियन्त्रण गर्न कुखुरा नष्ट गरिएको पशु सेवा कार्यालयले स्पष्ट पारेको छ।