काठमाडौँ । नेपालमा पदयात्रा तथा पर्वतीय पर्यटनलाई थप सुरक्षित, पूर्वानुमान योग्य र जोखिम न्यूनीकरण गर्न कृत्रिम बुद्धिमत्ता (एआई) आधारित ट्रयाकिङ तथा मूल्याङ्कन प्रणाली प्रयोग गर्ने उद्देश्यसहित सम्झौता भएको छ।
ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) र दक्षिण कोरियाको आइबिएल कम्पनी लिमिटेडबीच एजट्रेक डिजिटल सेफ्टी सिस्टम प्रयोग गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर गरिएको हो।
सम्झौताअनुसार एआईमा आधारित स्मार्ट सफ्टवेयर प्रविधि प्रयोग गरी पदयात्री, पथप्रदर्शक तथा सहयोगी श्रमिकहरूको जोखिम पूर्वानुमान, वास्तविक समय (रियल टाइम) लोकेशन पहिचान तथा उद्धार कार्यलाई सहज बनाइनेछ।
यस प्रणालीलाई प्रारम्भमा कुनै एक पदयात्रा मार्गमा परीक्षणका रूपमा लागू गरिनेछ। परीक्षणका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, स्थानीय सरकार तथा निजी क्षेत्रसँग समन्वय गरिनेछ। सफल परीक्षणपछि सरकारी अनुमति लिएर प्रणालीलाई व्यापक रूपमा विस्तार गर्ने योजना छ।
सम्झौतामा टानका महासचिव सोनाम ग्याल्जेन शेर्पा र आइबिएल कम्पनीका प्रमुख कार्यकारी अधिकृत सु डो किमले हस्ताक्षर गरेका हुन्।
परियोजनाअन्तर्गत पर्यटकहरूको रियल टाइम डाटाबेस तयार गर्ने, जोखिमबारे पूर्वसूचना दिने तथा डिजिटल ट्रयाकिङ प्रणाली स्थापना गर्ने काममा कोरियाली प्राविधिक पक्षले सहयोग गर्नेछ।
कार्यक्रम संयोजक तथा टानका सह–कोषाध्यक्ष लाक्पा तेम्बा शेर्पाका अनुसार प्रविधि स्थापना, प्राविधिक तालिम तथा एआई आधारित सूचना प्रणाली विकासमा कम्पनीले प्राविधिक सहयोग उपलब्ध गराउनेछ।
टानका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र सेढाईंले सम्बन्धित सरकारी निकाय, स्थानीय तह, व्यवसायी र प्राविधिक विज्ञहरूसँग समन्वय गरी यो प्रणालीले पर्यटन क्षेत्रलाई अझ सुरक्षित र विश्वसनीय बनाउन सक्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रममा कोरियाली संस्थाका प्रतिनिधिहरू, विश्वविद्यालयका प्राध्यापक तथा सुरक्षा प्रविधि विज्ञहरूको समेत उपस्थिति रहेको थियो।




