काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पाँचौं बैठक आगामी असार २५ गते बस्ने भएको छ।
नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले मंगलबार जारी गरेको सूचनाअनुसार बैठक बिहान ११ः३० बजे ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा आयोजना हुनेछ। बैठकमा प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि आग्रह गरिएको छ।
बैठकमा प्रतिष्ठानको आगामी कार्यदिशा, संगठनात्मक गतिविधि तथा नीति निर्माणसँग सम्बन्धित विभिन्न विषयमा छलफल हुने जनाइएको छ।
कांग्रेसका अनुसार बैठकको कार्यसूचीमा शून्य समय, नयाँ सदस्यहरूको शपथग्रहण, विभिन्न उपसमितिहरूको आगामी कार्ययोजना तथा थप उपसमिति विस्तारसम्बन्धी प्रस्तावमाथि छलफल र आवश्यक निर्णय गरिनेछ।
नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान नेपाली कांग्रेसको वैचारिक, नीतिगत अध्ययन तथा पार्टीका नेता–कार्यकर्ताको प्रशिक्षणसँग सम्बन्धित महत्वपूर्ण संरचनाका रूपमा रहेको छ। प्रतिष्ठानमार्फत पार्टीको नीति निर्माण, समसामयिक विषयमा अध्ययन–अनुसन्धान र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने उद्देश्य राखिएको छ।
आगामी बैठकले प्रतिष्ठानको कार्यसम्पादनलाई थप व्यवस्थित बनाउने तथा नयाँ जिम्मेवारी र संरचनालाई प्रभावकारी बनाउने विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ।




