काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा वार्षिक प्रतिवेदन पेस गर्ने, विभिन्न विधेयक प्रस्तुत गर्ने तथा दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्तावमाथि छलफल हुने कार्यसूची रहेको छ।
आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले प्रधानमन्त्रीको तर्फबाट महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन सदनमा पेस गर्नेछिन्।
त्यसैगरी, व्यवस्थापन कार्यअन्तर्गत मन्त्री गौतमले राष्ट्रिय सेवा दल विधेयक, २०८३ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्ने र उक्त विधेयक सदनमा पेस गर्ने कार्यसूची छ। उनले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभाबाट उत्पत्ति भएको पर्यटन विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सदनसमक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ।





