२०८३ श्रावण १०

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने दुई हजारभन्दा बढी चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा दुई हजार ७६ जना सवारीचालक ट्राफिक नियम उल्लंघन गरेको आरोपमा कारबाहीमा परेका छन्।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गर्ने ६८ जना, नियमविपरीत राइड सेयरिङ गर्ने १२९ जना, संकेत बत्ती उल्लंघन गर्ने १२६ जना र तीव्र गतिमा सवारी चलाउने १८९ जना रहेका छन्।

त्यस्तै, लेन अनुशासन उल्लंघन गर्ने १३९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १२४ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ८५ जना र एकतर्फी सडकमा नियम मिच्ने ५९ जना कारबाहीमा परेका छन्। अन्य सवारी नियम उल्लंघन गर्ने एक हजार १५७ जनालाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ।

ट्राफिक नियम उल्लंघनमा गरिएको जरिवानाबाट पछिल्लो २४ घण्टामा राज्यकोषमा १९ लाख ७१ हजार ५०९ रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

Read More

समयमै नवीकरण नगर्ने ४४ निर्माण कम्पनीको इजाजतपत्र खारेज

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले तोकिएको समयभित्र इजाजतपत्र नवीकरण नगर्ने ४४ वटा निर्माण व्यवसायी फर्म तथा कम्पनीको इजाजतपत्र खारेज गरेको छ।

निर्माण व्यवसाय ऐन, २०५५ अनुसार प्रत्येक आर्थिक वर्ष निर्माण व्यवसायीले आफ्नो इजाजतपत्र अनिवार्य रूपमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। आर्थिक वर्ष २०८२/८३ का लागि नवीकरण गर्ने अन्तिम म्याद २०८२ साल चैत मसान्तसम्म तोकिएको थियो।

तर, तोकिएको अवधिभित्र नवीकरण प्रक्रिया पूरा नगरेका कम्पनीहरूको इजाजतपत्र ऐनको व्यवस्थाअनुसार स्वतः खारेज भएको मन्त्रालयले जनाएको छ।

खारेज गरिएका कम्पनीहरूमा ‘क’ वर्गदेखि ‘घ’ वर्गसम्मका निर्माण व्यवसायी फर्म तथा कम्पनीहरू रहेका छन्।

Read More

वन कार्यालय प्रमुख १२ हजार घुससहित पक्राउ

काठमाडौं । सिरहाको सबडिभिजन वन कार्यालय बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादव घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा यादवलाई नियन्त्रणमा लिएको हो। उद्योगका लागि ल्याइएको काठको जाँच गरी कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा उनले रकम मागेको आरोप छ।

अख्तियारको बर्दिवास कार्यालयबाट खटिएको टोलीले यादवलाई सिरहाको कर्जन्हा नगरपालिका–४ स्थित मिर्चौया–बन्दीपुर सडकखण्डबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ।

खानतलासी गर्दा उनको साथबाट घुस रकमसहित स्रोत नखुलेको थप १ लाख ३३ हजार १२० रुपैयाँ र एक थान मोबाइल बरामद भएको छ। बरामद रकमसहित जम्मा १ लाख ४५ हजार १२० रुपैयाँ फेला परेको अख्तियारले जनाएको छ।

यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।

Read More

पाकिस्तानको कार्गो विमान अरब सागरमाथि सम्पर्कविहीन, खोजी अभियान जारी

काठमाडौं । शारजाहबाट कराँचीतर्फ उडेको पाकिस्तानको कार्गो विमान मंगलबार रातिदेखि सम्पर्कविहीन भएको छ। विमानमा चालक दलका पाँच सदस्य रहेका थिए।

पाकिस्तान विमानस्थल प्राधिकरणका अनुसार उडानका क्रममा नेभिगेसन प्रणालीमा समस्या आएको जानकारी दिएपछि एटीसीले विमानलाई मार्गनिर्देशन गर्ने प्रयास गरेको थियो। तर केही मिनेटमै विमान रडारबाट हराएको र सञ्चार सम्पर्क टुटेको जनाइएको छ।

प्रारम्भिक विवरणअनुसार विमान कराँचीको दक्षिण–पश्चिमतर्फ अरब सागरमा दुर्घटनाग्रस्त भएको आशंका गरिएको छ। विमान हराएपछि समुद्री क्षेत्रमा खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ।

फ्लाइट ट्र्याकिङ तथ्यांकअनुसार विमानको उचाइमा असामान्य परिवर्तन देखिएको थियो। अन्तिम तथ्यांकमा विमान करिब १,१०० फिट उचाइमा रहेको र तीव्र गतिमा तल झरिरहेको देखिएको जनाइएको छ।

सम्पर्कविहीन विमान पाकिस्तानमा दर्ता भएको बोइङ ७३७–४०० कार्गो विमान थियो। २७ वर्ष पुरानो उक्त विमान के–२ एयरवेजले सञ्चालन गर्दै आएको थियो। सन् २०१२ मा यसलाई यात्रुवाहकबाट मालवाहक विमानमा रूपान्तरण गरिएको थियो।

पाकिस्तान विमानस्थल प्राधिकरणले विभिन्न निकायको समन्वयमा विमान र चालक दलका सदस्यहरूको खोजी भइरहेको जनाएको छ। घटनाबारे विमान सञ्चालक कम्पनी र बोइङले भने हालसम्म आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

Read More

एडीबीले नेपाललाई थप २ अर्ब ४० करोड डलर सहयोग गर्ने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्दाले नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र विकासका क्षेत्रमा सहयोग विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री वालेन्द्र शाह र अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गर्दै नेपाल–एडीबी साझेदारीलाई थप मजबुत बनाउने बताएका हुन्।

एडीबीले सन् २०२९ सम्म नेपाललाई थप २ अर्ब ४० करोड अमेरिकी डलर अर्थात् करिब ३ खर्ब ६५ अर्ब रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ। चालु वर्षमा मात्रै एडीबीको सहयोग करिब ६६ करोड डलर पुग्ने अपेक्षा गरिएको छ।

भ्रमणका क्रममा नेपाल र एडीबीबीच १६ करोड ५० लाख अमेरिकी डलर बराबरको सहयोग सम्झौता भएको छ। सम्झौताअनुसार ११ करोड ५० लाख डलर खानेपानी तथा ढल निकास परियोजनामा र ५ करोड डलर भन्सार सुधार तथा डिजिटल व्यापार प्रवर्द्धनका लागि परिचालन गरिनेछ।

खानेपानी परियोजनाबाट ८ लाख ५० हजारभन्दा बढी नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ भने डिजिटल व्यापार र भन्सार आधुनिकीकरणले व्यापार सहजीकरणमा सहयोग पुर्‍याउने बताइएको छ।

अध्यक्ष कान्दाले काठमाडौंका दुई विद्युत् सबस्टेसनको भर्चुअल उद्घाटन गर्नुका साथै एडीबीको सहयोगमा पुनर्निर्माण गरिएको विश्व निकेतन विद्यालयको अवलोकन गरेका छन्। उनले एआई साक्षरता कार्यक्रमको समेत सुरुवात गरेका थिए।

अर्थमन्त्रीसँगको भेटमा लगानी वातावरण सुधार, निजी क्षेत्रका चुनौती र आर्थिक सहकार्य विस्तारका विषयमा छलफल भएको जनाइएको छ।

सन् १९६६ मा स्थापना भएको एडीबीको नेपाल संस्थापक सदस्य हो। नेपालले सन् १९६९ देखि एडीबीबाट वित्तीय सहयोग लिन थालेको हो। हाल नेपालमा एडीबीका करिब ४ अर्ब अमेरिकी डलर बराबरका परियोजना सञ्चालनमा छन्। आगामी सहयोग रोजगारी सिर्जना, दिगो पूर्वाधार निर्माण र डिजिटल रूपान्तरणमा केन्द्रित हुने बताइएको छ।

Read More

हर्मुज जलडमरूमध्य विवादपछि इरानमाथि अमेरिकी सैन्य कारबाही

काठमाडौं । हर्मुज जलडमरूमध्यमा व्यावसायिक ट्यांकरमाथि भएको आक्रमणपछि अमेरिकाले इरानविरुद्ध हवाई हमला गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले अन्तर्राष्ट्रिय जलमार्गमा रहेका व्यापारिक जहाजमाथि भएको आक्रमणको जवाफी कदमका रूपमा सैन्य कारबाही सुरु गरिएको बताएको हो।

अमेरिकाले इरानले नागरिक प्रयोजनका जहाजलाई निशाना बनाएको आरोप लगाउँदै यस्तो गतिविधि अनुचित र युद्धविरामको उल्लंघन भएको दाबी गरेको छ। तर इरानले भने अमेरिकी आरोप अस्वीकार गर्दै अमेरिकी कारबाहीलाई दुई देशबीच भएको पछिल्लो समझदारीविपरीत भएको जनाएको छ।

इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमण किश्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा भएको थियो। सैन्य कारबाहीअघि अमेरिकाले इरानलाई तेल तथा पेट्रोलियम पदार्थ बिक्रीका लागि दिइएको अस्थायी छुटसमेत रद्द गरेको थियो।

यस घटनामा अमेरिका, कतार र साउदी अरेबियाले इरानमाथि ट्यांकर आक्रमणको आरोप लगाएका छन्। कतार र साउदी अरेबियाका अनुसार हर्मुज जलडमरूमध्य पार गर्ने क्रममा ‘अल–रेकय्यात’ र ‘वदयान’ नामका तेल ट्यांकरहरू प्रभावित भएका थिए। इरानले भने आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गरेको छ।

बेलायतको यूके म्यारिटाइम ट्रेड अपरेसन्सका अनुसार पछिल्ला दिनमा भएका घटनामा केही व्यावसायिक जहाज प्रभावित भएका छन्। एउटा ट्यांकरको इन्जिन क्षेत्रमा प्रक्षेप्य लागेर आगलागी भएको थियो भने अन्य जहाजमा सामान्य क्षति पुगेको जनाइएको छ।

अमेरिका र इरानबीच गत महिना भएको १४ बुँदे समझदारीले युद्धविराम कायम गर्ने प्रयास गरेको थियो। तर हर्मुज जलडमरूमध्यको पछिल्लो घटनापछि मध्यपूर्वमा फेरि तनाव बढेको छ, जसले क्षेत्रीय सुरक्षा र विश्व ऊर्जा आपूर्तिमाथि नयाँ चिन्ता थपेको छ।

Read More

नेपालको आँखा उपचार सेवाको कम्बोडियामा प्रशंसा, एक हजारभन्दा बढीले लिए निःशुल्क सेवा

काठमाडौं । नेपालको आँखा उपचार सेवा र प्राविधिक क्षमताको कम्बोडियाले प्रशंसा गरेको छ। कम्बोडियाको विदेश तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका स्थायी सचिव तथा प्रधानमन्त्रीका निजी सल्लाहकार इट सोफियाले नेपालले सञ्चालन गरेको निःशुल्क आँखा उपचार शिविरको सफलताको प्रशंसा गरेका हुन्।

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीसँग भएको भेटमा सोफियाले कम्बोडियाको कम्पोङ चाम प्रान्तमा सम्पन्न आँखा शिविरबाट स्थानीय नागरिक लाभान्वित भएको भन्दै नेपालको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

नेपाल नेत्रज्योति सङ्घ, लुम्बिनी नेत्रविज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र थाइल्यान्डस्थित नेपाली राजदूतावासको समन्वयमा असार २० र २१ गते सञ्चालन गरिएको शिविरमा एक हजार दुई जना कम्बोडियाली नागरिकले निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा लिएका थिए।

शिविरमा ३७३ जनालाई औषधि, ४०७ जनालाई चश्मा र १९२ जनालाई औषधिसहित चश्मा वितरण गरिएको थियो। परीक्षणका क्रममा ९३ जनामा मोतियाबिन्दुको समस्या देखिएपछि थप उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको थियो।

भेटका क्रममा नेपाल र कम्बोडियाबीच आँखा उपचारसहित जनस्वास्थ्य, शिक्षा, कृषि, पर्यटन तथा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो। राजदूत ओलीले कम्बोडियाको आँखा स्वास्थ्य क्षेत्रको क्षमता विकासका लागि तालिम तथा प्राविधिक सहयोग उपलब्ध गराउन नेपाल तयार रहेको बताए।

दुई देशबीच बौद्ध तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका लागि नेपालको लुम्बिनी र कम्बोडियाको अङ्कोर वाटबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत जोड दिइएको थियो।

Read More

धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए, ३५ करोड लगानीसँगै ३५० जनाले रोजगारी पाउने

काठमाडौं । धरान औद्योगिक क्षेत्रमा लामो समयदेखि निष्क्रिय रहेका उद्योगहरूको लिज सम्झौता रद्द गरेर पाँच नयाँ उद्योग भित्र्याइएको छ। नयाँ उद्योग थपिएसँगै करिब ३५ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी भित्रिएको छ भने उद्योगहरू पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब ३५० जनाले प्रत्यक्ष रोजगारी पाउने अपेक्षा गरिएको छ।

धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख जीवनारायण बञ्जाडेका अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कानुनी प्रक्रिया पूरा गरी लामो समयदेखि उत्पादन नगरी जग्गा ओगटेर बसेका उद्योगहरूको लिज सम्झौता रद्द गरेको हो। त्यसपछि सार्वजनिक प्रस्ताव आह्वान तथा लिज हस्तान्तरण प्रक्रिया पूरा गर्दै नयाँ उद्योगसँग सम्झौता गरिएको उनले जानकारी दिए।

नयाँ उद्योगमा प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज, जिडी स्टिल इन्डस्ट्रिज, सिद्धि विनायक घरेलु उद्योग, जेआर भेन्चर्स र सूर्य डायमन्ड इन्डस्ट्रिज रहेका छन्। सूर्य डायमन्ड इन्डस्ट्रिजको लिज सम्झौता भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको केन्द्रीय कार्यालयबाट अन्तिम स्वीकृतिको प्रक्रियामा रहेको जनाइएको छ।

यसअघि नेपाल न्यून नेटवर्क, शुभम् वाटर इन्डस्ट्रिज, जानकी प्रोडक्ट्स, फेमिली युटेन्सिल इन्डस्ट्रिज र कामना मल्टिफोर्ड इन्डस्ट्रिजको लिज सम्झौता रद्द गरिएको थियो।

सञ्चालनको तयारीमा रहेका उद्योगहरूले पानीका मिटर तथा फिटिङ सामग्री, निर्माण सामग्री, खाद्यान्न, पशु आहार तथा विभिन्न प्रकारका भाँडावर्तन उत्पादन गर्नेछन्। उत्पादनमुखी उद्योगलाई प्राथमिकता दिँदै आयात प्रतिस्थापन, राजस्व वृद्धि र स्थानीय अर्थतन्त्रलाई थप चलायमान बनाउने उद्देश्यले नयाँ उद्योगसँग सम्झौता गरिएको प्रमुख बञ्जाडेको भनाइ छ। उनका अनुसार उद्योग सञ्चालनमा आएपछि स्वदेशी बजारको माग पूर्ति गर्नुका साथै केही उत्पादन निर्यात गर्ने सम्भावना पनि रहेको छ।

धरान औद्योगिक क्षेत्रमा हाल प्लास्टिकजन्य पाइप, खाद्यान्न, धातुजन्य सामग्री, होजियारी तथा डेरीजन्य वस्तु उत्पादन गर्ने उद्योग सञ्चालनमा छन्। विसं २०३२ देखि सञ्चालनमा रहेको यस औद्योगिक क्षेत्रमा अहिले ३५ उद्योगमध्ये ३० उद्योग सञ्चालनमा छन् भने पाँच उद्योग निर्माणको अन्तिम चरणमा रहेका छन्। सञ्चालनमा रहेका उद्योगमार्फत हाल करिब एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।

Read More

नक्कली भुटानी शरणार्थी प्रकरण : टेकनाथ रिजाल चार मुद्दामा दोषी ठहर

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई चारवटा मुद्दामा दोषी ठहर गरेको छ।

अदालतले शरणार्थी परिचयपत्रमा किर्ते गरेको ठहर गर्दै उनलाई सरकारी लिखत किर्तेसम्बन्धी कसुरमा दोषी ठहर गरेको हो। साथै, ठगी तथा संगठित अपराधमा मतियारको भूमिका खेलेको निष्कर्ष निकाल्दै ती अभियोगमा पनि दोषी ठहर गरिएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजनामा संलग्न रहेको भन्दै अदालतले उनलाई राज्यविरुद्धको अपराधमा पनि मतियारका रूपमा दोषी ठहर गरेको छ।

यसैगरी, एकीकृत कसुरअन्तर्गत पनि रिजाल दोषी ठहर भएका छन्। अदालतले सजाय निर्धारण भने आगामी चरणमा गर्नेछ।

Read More

पेनाल्टी सुटआउटमा कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड क्वार्टरफाइनलमा

काठमाडौं । स्वीट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा आज भएको अन्तिम १६ को प्रतिस्पर्धामा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै स्वीट्जरल्यान्डले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो।

निर्धारित ९० मिनेटको खेल र त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो।

यस नतिजासँगै विश्वकप २०२६ को अन्तिम १६ चरणका सबै खेल सम्पन्न भएका छन् भने क्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ।

Read More