काठमाडौं । हर्मुज जलडमरूमध्यमा व्यावसायिक ट्यांकरमाथि भएको आक्रमणपछि अमेरिकाले इरानविरुद्ध हवाई हमला गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले अन्तर्राष्ट्रिय जलमार्गमा रहेका व्यापारिक जहाजमाथि भएको आक्रमणको जवाफी कदमका रूपमा सैन्य कारबाही सुरु गरिएको बताएको हो।
अमेरिकाले इरानले नागरिक प्रयोजनका जहाजलाई निशाना बनाएको आरोप लगाउँदै यस्तो गतिविधि अनुचित र युद्धविरामको उल्लंघन भएको दाबी गरेको छ। तर इरानले भने अमेरिकी आरोप अस्वीकार गर्दै अमेरिकी कारबाहीलाई दुई देशबीच भएको पछिल्लो समझदारीविपरीत भएको जनाएको छ।
इरानी सरकारी सञ्चारमाध्यमका अनुसार अमेरिकी आक्रमण किश्म टापु, बन्दर अब्बास र सिरिक क्षेत्रमा भएको थियो। सैन्य कारबाहीअघि अमेरिकाले इरानलाई तेल तथा पेट्रोलियम पदार्थ बिक्रीका लागि दिइएको अस्थायी छुटसमेत रद्द गरेको थियो।
यस घटनामा अमेरिका, कतार र साउदी अरेबियाले इरानमाथि ट्यांकर आक्रमणको आरोप लगाएका छन्। कतार र साउदी अरेबियाका अनुसार हर्मुज जलडमरूमध्य पार गर्ने क्रममा ‘अल–रेकय्यात’ र ‘वदयान’ नामका तेल ट्यांकरहरू प्रभावित भएका थिए। इरानले भने आफूविरुद्ध लगाइएको आरोप अस्वीकार गरेको छ।
बेलायतको यूके म्यारिटाइम ट्रेड अपरेसन्सका अनुसार पछिल्ला दिनमा भएका घटनामा केही व्यावसायिक जहाज प्रभावित भएका छन्। एउटा ट्यांकरको इन्जिन क्षेत्रमा प्रक्षेप्य लागेर आगलागी भएको थियो भने अन्य जहाजमा सामान्य क्षति पुगेको जनाइएको छ।
अमेरिका र इरानबीच गत महिना भएको १४ बुँदे समझदारीले युद्धविराम कायम गर्ने प्रयास गरेको थियो। तर हर्मुज जलडमरूमध्यको पछिल्लो घटनापछि मध्यपूर्वमा फेरि तनाव बढेको छ, जसले क्षेत्रीय सुरक्षा र विश्व ऊर्जा आपूर्तिमाथि नयाँ चिन्ता थपेको छ।




