काठमाडौं। विराटनगरस्थित कोशी अस्पतालको जग्गामा विभिन्न संघसंस्थाले निर्माण गरेका संरचना हटाउन डोजर परिचालन गरिएको छ। अस्पताल परिसर आसपास निर्माण गरिएका अवैध संरचना भत्काउने काम सोमबार बिहानदेखि सुरु गरिएको हो।
विराटनगर–७ स्थित अस्पताल चोकमा रहेको अस्पतालको जग्गामा नेपाल रेडक्रस सोसाइटीको ब्लड बैंक, नेपाल क्षयरोग निवारण संस्था, गणेश मन्दिर समिति र देवकोटा पुस्तकालयले स्थायी संरचना बनाएर प्रयोग गर्दै आएका थिए।
उक्त संस्थाहरूले अस्पतालको जग्गामा सटर निर्माण गरी तेस्रो पक्षलाई व्यावसायिक प्रयोजनका लागि भाडामा दिएको जनाइएको छ। ती संरचनामा रहेका २६ वटा सटर प्रयोग हुँदै आएका थिए।
संरचना हटाउने क्रममा अस्पताल अगाडिको क्षेत्र, दक्षिण–पूर्वतर्फको अस्पताल चोक र देवकोटा चोकतर्फबाट एकैपटक डोजर सञ्चालन गरिएको छ। सुरक्षाका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
संरचना भत्काउने कार्यको अनुगमन गर्न मोरङका प्रहरी प्रमुख कबित कटवाल, सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालासहितको टोली घटनास्थलमा खटिएको छ।




