२०८३ श्रावण ३०

नयाँ राहदानी प्रणाली सञ्चालनमा, सुरुवाती चरणमा ढिलाइ हुन सक्ने

काठमाडौँ । राहदानी विभागले सोमबारदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणाली सञ्चालनमा ल्याएको छ। विभागले करिब एक करोड नेपाली नागरिकको राहदानीसम्बन्धी विवरण सुरक्षित रूपमा नयाँ प्रणालीमा स्थानान्तरण गर्दै देशकै सबैभन्दा ठूलो ‘डेटा माइग्रेसन’ सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।

विभागका अनुसार नयाँ प्रणालीको सुरुवाती चरणमा केही प्राविधिक समस्या, प्रणालीमा सुस्तता वा राहदानी वितरणमा सामान्य ढिलाइ हुन सक्छ। सम्भावित समस्या समाधानका लागि प्राविधिक टोली र प्रणाली विकासकर्ताका विज्ञहरू चौबीसै घण्टा तयारी अवस्थामा रहेको विभागले जनाएको छ।

प्रणालीलाई थप स्थिर बनाउने काम जारी रहेकाले विभागले हाल अत्यावश्यक काम परेका सेवाग्राहीलाई मात्र राहदानीका लागि आवेदन दिन अनुरोध गरेको छ।