२०८३ श्रावण १०

धरान–इटहरी सडकमा प्राधिकरणको स्कारपियो दुर्घटना, चालकसहित दुईको मृत्यु

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको स्कारपियो गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

धरानबाट इटहरीतर्फ जाँदै गरेको बा १ ञ १६५१ नम्बरको स्कारपियो गए राति करिब ११ः३० बजे धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार दुर्घटनामा गाडी चालक धरान–१३ का बिर्ख राई र नेपाल विद्युत् प्राधिकरणका कर्मचारी धरान–१६ का सुमन आचार्य गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा राति करिब १२ः४५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा घाइते भएका धरान–२० का पदम राईको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाउँदै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।