काठमाडौं । मधेस प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटसँग सम्बन्धित समस्या समाधान गर्न गठित कार्यदलले तयार पारेको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाका अनुसार कार्यदलको प्रतिवेदन प्रस्तुत भएपछि त्यसमा छलफल हुनेछ। छलफल सम्पन्न भएपछि आगामी आर्थिक वर्ष २०८३/८४ को विनियोजन विधेयकमाथिको छलफल प्रारम्भ गर्ने तयारी रहेको छ।
बजेटसम्बन्धी विवाद समाधानका लागि असार २८ गते बसेको प्रदेशसभा बैठकले प्रदेशसभा सदस्य उपेन्द्र महतो, हरिनारायण महतो, जङ्गीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, विमला अन्सारी तरुण र सरिताकुमारी ठाकुर सदस्य रहेको कार्यदल गठन गरेको थियो।
मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले आगामी आर्थिक वर्षका लागि कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए।
बजेटमाथिको छलफल अघि बढाउन र देखिएका विवाद समाधान गर्न कार्यदलको प्रतिवेदनलाई महत्वपूर्ण मानिएको छ।




