काठमाडौं : नेपाली कम्युनिष्ट पार्टीका सांसद रमेश मल्लले मिडिया हाउस अगाडि सवारी साधन तेर्स्याएर त्रास सिर्जना गर्ने गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मल्लले सोमबार बिहान मिडिया हाउस अगाडि गाडी राखेर आतंकित बनाउने प्रयास गरिएको आरोप लगाए। उनले प्रमुख प्रतिपक्षी दलका नेताको घर खोज्ने नाममा होहल्ला र अवाञ्छित गतिविधि गरिएको बताए।
उनका अनुसार घटनाबारे दिनभर विभिन्न चर्चा भए पनि अन्ततः राज्य संरक्षित केही व्यक्तिहरूको संलग्नता देखिएको दाबी गरे। राज्य संयन्त्रकै संरक्षणमा त्रास फैलाउने गतिविधि हुनु र सामान्य जरिवाना गरेर जिम्मेवारीबाट उम्कन दिने प्रवृत्ति स्वीकार्य नहुने उनको भनाइ थियो।
“५०० रुपैयाँदेखि लाखौं रुपैयाँसम्म जरिवाना गर्ने कानुनी व्यवस्था हुँदाहुँदै अहिले ५०० रुपैयाँको चिट काटेर छाडिएको भन्ने सुनिएको छ,” मल्लले भने, “यस्तो कार्य कदापि स्वीकार्य हुँदैन।”
सांसद मल्लले घटनामा प्रयोग भएका सवारी साधन जफत गरी कानुनअनुसार ठूलो जरिवाना गर्न तथा यसका योजनाकार र संलग्न सबैमाथि कडा कारबाही गर्न सरकारसँग आग्रह गरे।




