२०८३ श्रावण १०

जावलाखेलमा ‘स्मार्ट सेफ्टी ब्यारेड’ सञ्चालन, पैदलयात्री सुरक्षा बढाउने लक्ष्य

काठमाडौं । सडक सुरक्षा र ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले ललितपुर महानगरपालिकाले जावलाखेलमा ‘स्मार्ट सेफ्टी ब्यारेड’ सञ्चालनमा ल्याएको छ। नेपालमै पहिलोपटक प्रयोगात्मक रूपमा जडान गरिएको यो प्रविधिले पैदलयात्रीलाई सुरक्षित बनाउन र ट्राफिक नियम पालना गराउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

ललितपुर महानगरपालिका नगर प्रहरी बलका प्रमुख सिताराम हाछेथुका अनुसार यो प्रणाली ट्राफिक बत्तीसँग जोडिएको छ। जेब्रा क्रसिङमा पैदलयात्रीका लागि हरियो बत्ती बल्दा ब्यारेड खुल्ने र रातो बत्ती बल्दा स्वतः बन्द हुने व्यवस्था गरिएको छ।

सेन्सरयुक्त यो प्रविधिले बाटो काटिरहेका पैदलयात्रीलाई बीचमै रोक्न नदिने गरी काम गर्नेछ। यससँगै महानगरले जेब्रा क्रसिङबाहेक अन्य स्थानबाट बाटो काट्ने प्रवृत्ति रोक्न सडक किनारमा गमलासहितको बार लगाउने तयारीसमेत गरेको छ।

महानगर प्रमुख चिरिबाबु महर्जनले ट्राफिक नियमको बेवास्ताका कारण पैदलयात्री जोखिममा पर्ने अवस्था घटाउन नयाँ प्रविधि उपयोगी हुने बताए।

हाल जावलाखेलका दुई व्यस्त स्थानमा परीक्षणका रूपमा स्मार्ट ब्यारेड सञ्चालन गरिएको छ। प्रयोग सफल भएमा महानगरभित्रका ट्राफिक लाइट भएका सबै मुख्य चोकमा यसको विस्तार गर्ने योजना रहेको छ।