काठमाडौं । जल तथा मौसम विज्ञान विभागले लगातार भइरहेको वर्षाका कारण देशका विभिन्न नदीमा बाढीको जोखिम बढेको जनाएको छ। विभागका अनुसार बागमती र गण्डकी प्रदेशका दक्षिणी क्षेत्र बढी प्रभावित भएका छन् भने केही स्थानमा पहिरोसमेत गएको छ।
वरिष्ठ मौसमविद् मीनकुमार अर्यालका अनुसार हाल कोशी, बागमती, गण्डकी, मधेश र लुम्बिनी प्रदेशका पूर्वी भूभागमा मनसुन सक्रिय रहेको छ। पछिल्लो २४ घण्टामा चितवन आसपास र गण्डकी प्रदेशको दक्षिणी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा भएको उनले बताए।
उनले लगातारको वर्षाका कारण नदीको जलस्तर बढ्दै गएको र विगत केही दिनदेखि जमिन भिजेकाले पहिरोको जोखिम पनि बढेको जानकारी दिए।
विभागले तराई क्षेत्रका खहरे खोला तथा हिमाली क्षेत्रबाट बग्ने नदी आसपासका बस्तीमा बाढीको जोखिम बढी रहेकाले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।




