काठमाडौं। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत् आयोजना बाढीका कारण प्रभावित भएको छ। आयोजनाको बाँध (इन्टेक) क्षेत्रमा बाढी पसेर क्षति पुगेपछि असार २८ गतेदेखि विद्युत् उत्पादन रोकिएको आयोजनाले जनाएको छ।
आयोजना प्रमुख दार्शनिक काफ्लेका अनुसार बाढीका कारण बाँधमा क्षति पुगेको छ भने बाँधसम्म पुग्ने सडकसमेत पहिरोले अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा मर्मत तथा निरीक्षणका काममा समेत समस्या भएको बताइएको छ।
विद्युत् उत्पादन बन्द हुँदा आयोजनाले आर्थिक क्षति व्यहोर्नुपरेको छ। गत वर्ष मात्रै निर्माण सम्पन्न भएको उक्त आयोजना दाना सबस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो।
आयोजना सञ्चालनमा ल्याउन क्षतिको मूल्याङ्कन तथा आवश्यक मर्मत कार्य अघि बढाउने तयारी भइरहेको जनाइएको छ।




