काठमाडौं। नेपाल आयल निगमले बुधबारदेखि खाना पकाउने ग्यासको सिलिन्डर पुरानै तौलअनुसार बिक्री गर्ने निर्णय गरेको छ। निगमले मंगलबार जारी गरेको सूचनामार्फत देशभर १४.२ केजी क्षमताको पूर्ण सिलिन्डर ग्यास उपलब्ध गराउने जनाएको हो।
निगमका अनुसार इण्डियन आयलका विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट ग्यास लोडिङको अवस्था सुधार हुँदै गएको र उपभोक्ताबाट १४.२ केजीकै सिलिन्डरको माग बढेपछि पुरानै व्यवस्थामा फर्किने निर्णय गरिएको हो।
यसअघि कम तौलको सिलिन्डर बिक्री हुँदै आएकोमा अब बजारमा नियमित रूपमा १४.२ केजी ग्यास सिलिन्डर उपलब्ध हुनेछ। निगमले यसको उपभोक्ता मूल्य २ हजार ६० रुपैयाँ तोकेको छ।
निगमले देशभरका ग्यास बिक्रेतालाई बुधबारदेखि नै नयाँ व्यवस्था लागू गर्न निर्देशन दिएको जनाएको छ।





