काठमाडौं। चितवन राष्ट्रिय निकुञ्जले लामो समयदेखि समस्या बनेको जंगली हात्ती ‘ध्रुवे’लाई रेडियो कलर जडान गरेको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्रमा मानवीय क्षति पुर्याउँदै आएको उक्त हात्तीलाई डार्ट गरी नियन्त्रणमा लिएर स्याटेलाइट रेडियो कलर लगाइएको हो।
निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार हात्तीलाई बेहोस बनाउने औषधि प्रयोग गरी रेडियो कलर जडान गरिएको हो। त्यसपछि हात्तीको दाह्रा काटेर पुनः जंगलमै छाडिएको छ।
रेडियो कलर जडान भएपछि हात्तीको गतिविधि जीपीएस ट्र्याकिङमार्फत निगरानी गर्न सकिने र उसको अवस्थाबारे छिटो जानकारी प्राप्त गर्न सहज हुने निकुञ्जले जनाएको छ।
निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको नयाँ गोरख गण, निकुञ्जका प्राविधिक कर्मचारी र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकको संयुक्त टोलीले हात्तीलाई रेडियो कलर जडान गरेको हो।
गत असार २० गते भरतपुर–२३ मा सोही हात्तीको आक्रमणबाट २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेको मृत्यु भएपछि निकुञ्जले ‘ध्रुवे’को खोजी र निगरानी बढाएको थियो।
प्रतिकूल मौसम र घना झाडीका कारण हात्ती नियन्त्रणमा लिन समय लागेको निकुञ्जले जनाएको छ। निकुञ्जले स्थानीय बासिन्दालाई जंगली हात्ती देखिएमा सावधानी अपनाउन, जारी सूचनाको पालना गर्न र तत्काल सम्बन्धित निकायलाई खबर गर्न आग्रह गरेको छ।




