२०८३ श्रावण १०

साउनको पहिलो सोमबार: पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं। साउन महिनाको पहिलो सोमबारका अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको उल्लेख्य भीड लागेको छ। बिहान ३ बजेदेखि पशुपतिनाथ मन्दिरका चारै ढोका खुला गरिएको थियो भने साउने झरीका बाबजुद दर्शन र पूजाआराधनाका लागि श्रद्धालुहरूको आगमन निरन्तर जारी रहेको छ।

पशुपति क्षेत्र विकास कोषले दर्शनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन विशेष व्यवस्था मिलाएको जनाएको छ। कोषका पदाधिकारी तथा कर्मचारीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, ट्राफिक प्रहरी, काठमाडौं महानगर प्रहरी तथा विभिन्न धार्मिक र सामाजिक संघ–संस्थाका प्रतिनिधि परिचालन गरिएको छ। दर्शनार्थीका लागि प्राथमिक उपचारलगायत आवश्यक सेवा पनि उपलब्ध गराइएको छ।

कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार विशेष पूजा बिहान ८:३० बजेदेखि मध्याह्न १२ बजेसम्म सञ्चालन हुनेछ भने मन्दिरका चारै ढोका साँझ आरतीपछि राति ८ बजेसम्म भक्तजनका लागि खुला रहनेछन्। दर्शनका लागि चार वटा लामको व्यवस्था गरिएको भए पनि बिहानसम्म लाम अत्यधिक लामो नरहेको जनाइएको छ।

पशुपतिनाथ मात्र होइन, काठमाडौं उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, मक्खन महादेवलगायत प्रमुख शिव मन्दिरमा पनि श्रद्धालुको उल्लेख्य उपस्थिति देखिएको छ। साउनको पहिलो सोमबारका अवसरमा देशभरका शिवालयमा भगवान् शिवको पूजा, जलाभिषेक र दर्शन गर्ने भक्तजनको चहलपहल दिनभर रहने अपेक्षा गरिएको छ।