काठमाडौं। काठमाडौंको बौद्ध क्षेत्रमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन्। घटनामा गम्भीर घाइते भएकी उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भई हाल काठमाडौंको बौद्ध क्षेत्रमा बसोबास गर्दै आएकी २७ वर्षीया महिलाले सोमबार अपराह्न बौद्ध गेटअगाडि आत्मदाहको प्रयास गरेकी हुन्। घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा उनको तत्काल उद्धार गरिएको थियो।
घाइते महिलालाई प्रारम्भिक उपचारका लागि गोकर्णेश्वर–६ स्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पुर्याइएको थियो। स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ। अस्पताल स्रोतका अनुसार उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको छ र हाल आईसीयूमा उपचार भइरहेको छ।
प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ। आत्मदाहको प्रयास गर्नुको कारणबारे आवश्यक अनुसन्धान भइरहेको र घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ।




