काठमाडौं । लगातार दुई कारोबार दिनको सुधारपछि बुधबार नेपाली सेयर बजार पुनः ओरालो लागेको छ। यस दिन नेप्से परिसूचक १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा झरेको छ।
मंगलबार नेप्से ७.२५ अंकले बढ्दै २७२६.४९ विन्दुमा पुगेको थियो भने सोमबार पनि परिसूचक ४१.७० अंकले उकालो लागेको थियो। पछिल्लो दुई दिनको वृद्धिपछि बुधबार बजारमा सामान्य करेक्सन देखिएको हो।
यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। कुल ३४६ वटा कम्पनी तथा धितोपत्रको १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै, बंगल हाइड्रोपावरको १०.५० प्रतिशत र साल्पा विकास बैंकको ५.९२ प्रतिशतले वृद्धि भएको छ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको करिब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २८ करोड, रिलायन्स स्पिनिङ मिल्सको २६ करोड, आँखुखोला जलविद्युतको २३ करोड र नेसनल हाइड्रोपावरको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
बुधबार कारोबार भएका मध्ये ७७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९३ वटा कम्पनीको मूल्य घटेको छ। सात वटा कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।
समूहतर्फ ट्रेडिङ उपसूचक सबैभन्दा बढी २.६० अंकले घटेको छ।




