२०८३ श्रावण १०

प्रचण्डले दिए पार्टी सुदृढीकरण र संगठन विस्तारमा जोड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी संगठन मजबुत बनाउने, आन्दोलनलाई प्रभावकारी बनाउने र पार्टी निर्माणको कामलाई प्राथमिकतामा राखेको बताएका छन्।

बुधबार जनकपुरमा आयोजित नेकपा मधेश प्रदेश एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले मधेशमा बलियो संगठन निर्माण गर्न सके त्यसले देशभरको कम्युनिस्ट आन्दोलनलाई सकारात्मक प्रभाव पार्ने बताए।

उनले मधेशमा पार्टी कमजोर भए त्यसको असर समग्र राजनीतिक यात्रामा पर्न सक्ने भन्दै संगठन विस्तारलाई गम्भीरतापूर्वक लिनुपर्ने धारणा राखे।

प्रचण्डले पार्टीभित्र जिम्मेवारी बाँडफाँड र कार्यविभाजनमा केही असन्तुलन देखिएको स्वीकार गर्दै नेता तथा कार्यकर्ताबाट आएका गुनासा र असन्तुष्टिलाई सम्बोधन गर्न कार्यविभाजन पुनरावलोकन गरिने प्रतिबद्धता व्यक्त गरे।

Read More

संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. भीमप्रसाद खतिवडा नियुक्त

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा प्राडा भीमप्रसाद खतिवडा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले खतिवडालाई उक्त पदमा नियुक्त गरेका हुन्।

नवनियुक्त उपकुलपति खतिवडालाई शिक्षामन्त्री सस्मित पोखरेलले पद तथा गोपनीयताको शपथ गराएका छन्।

यसअघि अध्यादेशमार्फत विश्वविद्यालयका उपकुलपति पदमुक्त भएपछि रिक्त रहेको पदमा खतिवडालाई नियुक्त गरिएको हो।

Read More

नेप्सेमा पुनः गिरावट, परिसूचक १३.९५ अंकले घट्यो

काठमाडौं । लगातार दुई कारोबार दिनको सुधारपछि बुधबार नेपाली सेयर बजार पुनः ओरालो लागेको छ। यस दिन नेप्से परिसूचक १३.९५ अंकले घटेर २७१२.५४ विन्दुमा झरेको छ।

मंगलबार नेप्से ७.२५ अंकले बढ्दै २७२६.४९ विन्दुमा पुगेको थियो भने सोमबार पनि परिसूचक ४१.७० अंकले उकालो लागेको थियो। पछिल्लो दुई दिनको वृद्धिपछि बुधबार बजारमा सामान्य करेक्सन देखिएको हो।

यस दिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। कुल ३४६ वटा कम्पनी तथा धितोपत्रको १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार एभरेष्ट कलर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढेको छ। त्यस्तै, बंगल हाइड्रोपावरको १०.५० प्रतिशत र साल्पा विकास बैंकको ५.९२ प्रतिशतले वृद्धि भएको छ।

कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको करिब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको २८ करोड, रिलायन्स स्पिनिङ मिल्सको २६ करोड, आँखुखोला जलविद्युतको २३ करोड र नेसनल हाइड्रोपावरको १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बुधबार कारोबार भएका मध्ये ७७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९३ वटा कम्पनीको मूल्य घटेको छ। सात वटा कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

समूहतर्फ ट्रेडिङ उपसूचक सबैभन्दा बढी २.६० अंकले घटेको छ।

Read More

पीपीपी मोडलमा हस्तकला विकास बोर्ड गठन गर्न प्रधानमन्त्री शाह सकारात्मक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाल हस्तकला व्यवसायी महासंघका प्रतिनिधिसँग छलफल गर्दै सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्ने प्रस्तावप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्।

बुधबार सिंहदरबारमा भएको भेटमा महासंघका प्रतिनिधिले नेपालमा हस्तकला क्षेत्रको विकास, विस्तार र संरक्षणका लागि पीपीपी मोडलमा छुट्टै बोर्ड गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त मागमा प्रधानमन्त्री शाह सकारात्मक देखिएका हुन्।

छलफलका क्रममा महासंघका प्रतिनिधिले मंसिर २८ गते मनाउँदै आएको हस्तकला दिवसलाई राष्ट्रिय दिवसका रूपमा घोषणा गर्न पनि आग्रह गरेका थिए। प्रधानमन्त्री शाहले यस विषयमा गृह मन्त्रालयसँग आवश्यक समन्वय गर्न आफ्नो टोलीलाई निर्देशन दिएको सचिवालयले जनाएको छ।

हस्तकला सामग्री निर्यातमा हाल रहेको स्वघोषणा प्रणालीलाई सुधार गरी बिजक मूल्यांकन अनिवार्य गर्दा राजस्व वृद्धि हुने सुझाव पनि महासंघले दिएको थियो। प्रधानमन्त्री शाहले व्यवसायीका सुझाव कार्यान्वयनका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

महासंघले हस्तकला सामग्री निर्यातबापत पाउनुपर्ने पाँच प्रतिशत रकम तीन वर्षदेखि रोकिएको विषय उठाउँदै तत्काल भुक्तानीको व्यवस्था गर्न माग गरेको थियो। प्रधानमन्त्रीले अब यस्तो रकम रोक्का नहुने आश्वासन दिएको सचिवालयले जनाएको छ।

यसैगरी, उद्योग विभाग परिसरमा निर्माण गरिएको ‘सार्क हस्तकला विकास केन्द्र’को भवन हस्तकला क्षेत्रकै प्रयोजनमा प्रयोग गर्नुपर्ने माग व्यवसायीहरूले राखेका थिए। प्रधानमन्त्री शाहले उक्त भवन फिर्ता गर्ने विषयमा सकारात्मक प्रतिक्रिया दिएका छन्।

छलफलमा काठमाडौं उपत्यकामा हस्तकला ग्राम स्थापना गर्ने तथा सातै प्रदेशमा सीप प्रशिक्षण केन्द्र सञ्चालन गर्ने प्रस्तावसमेत प्रस्तुत गरिएको थियो। भेटमा महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरणकुमार स्थापितलगायतका प्रतिनिधिको सहभागिता रहेको थियो।

Read More

हर्मुज जलघाँटीमा इरानको नियन्त्रण स्वीकार्य नहुने अमेरिकी चेतावनी

काठमाडौं । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले हर्मुज जलघाँटीमाथि नियन्त्रण कायम गर्न खोजे त्यसले विश्वव्यापी समुद्री व्यापार र अन्तर्राष्ट्रिय जलयात्रामा गम्भीर असर पर्ने चेतावनी दिएका छन्।

आसियान विदेशमन्त्रीहरूको मनिलामा जारी बैठकलाई सम्बोधन गर्दै रुबियोले कुनै पनि मुलुकलाई अन्तर्राष्ट्रिय जलमार्ग नियन्त्रण गर्ने वा त्यहाँबाट आवतजावत गर्ने जहाजमाथि दबाब सिर्जना गर्ने अधिकार नभएको बताए। उनले यस्तो अभ्यासले अन्तर्राष्ट्रिय समुद्री कानुन र स्वतन्त्र जलयात्राको सिद्धान्त कमजोर बनाउने उल्लेख गरे।

उनले हर्मुज जलघाँटीमा इरानले दाबी गरिरहेको अधिकारलाई अन्तर्राष्ट्रिय कानुनले मान्यता नदिने स्पष्ट पार्दै समुद्री मार्ग सबैका लागि खुला रहनुपर्नेमा जोड दिए।

रुबियोको अभिव्यक्ति अमेरिकी सेनाले इरानको सैन्य पूर्वाधारमाथि लगातार आक्रमण जारी रहेको जानकारी सार्वजनिक गरेपछि आएको हो। अमेरिकाले ती कारबाहीको उद्देश्य हर्मुज जलघाँटीमा व्यापारिक जहाजको सुरक्षामा देखिएको जोखिम कम गर्नु रहेको जनाएको छ।

उनले दक्षिण चीन सागरमा देखिएको समुद्री तनावप्रति पनि चासो व्यक्त गर्दै आसियान सदस्य राष्ट्रहरूसँग क्षेत्रीय सुरक्षाबारे छलफल गर्ने बताए। मनिला भ्रमणका क्रममा रुबियोले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गर्नुका साथै क्वाड समूहका साझेदार मुलुकका प्रतिनिधिसँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ।

यसैबीच, रुबियोले अमेरिका इरानसँग कूटनीतिक वार्ताका लागि अझै तयार रहेको बताए। तर, तेहरानले वार्तालाई गम्भीरतापूर्वक नलिए अमेरिका र उसका साझेदार राष्ट्रको हित रक्षा गर्न आवश्यक कदम चालिने चेतावनी पनि उनले दिएका छन्।

Read More

भारतमा प्रदर्शनका क्रममा पक्राउ परेका राहुल गान्धी मुक्त

काठमाडौं । विरोध प्रदर्शनका क्रममा पक्राउ परेका भारतीय विपक्षी नेता राहुल गान्धीलाई केही समयपछि रिहा गरिएको छ।

शिक्षा प्रणालीमा सुधार र शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै राजधानी नयाँदिल्लीमा भएको प्रदर्शनको नेतृत्व गान्धीले गरेका थिए। उनले सरकारले विद्यार्थीको आवाज दबाउन प्रहरी परिचालन गरेको आरोप लगाएका छन्।

प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको जनाएको छ। घटनामा ६० सर्वसाधारण र ११८ प्रहरी घाइते भएका छन्।

सरकारमाथि परीक्षा व्यवस्थापनमा गम्भीर कमजोरी भएको आरोप लागिरहेका बेला शिक्षा मन्त्री प्रधानले सुधार र पारदर्शिताप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन्।

यस आन्दोलनलाई मुम्बई र बेङ्गलुरुसहित अन्य सहरमा पनि समर्थन मिलेको छ। मेडिकल प्रवेश परीक्षासम्बन्धी विवादपछि सुरु भएको विरोध अभियानले भारतको परीक्षा प्रणालीमाथि थप प्रश्न उठाएको छ।

Read More

महोत्तरी, काभ्रे र सप्तरीमा आगलागी, गोठ जलेर लाखौंको क्षति

काठमाडौं। देशका तीन जिल्लामा भएका छुट्टाछुट्टै आगलागीका घटनाले लाखौं रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। महोत्तरी, काभ्रे र सप्तरीमा भएको आगलागीबाट मुख्य रूपमा गोठ जलेका छन् भने कुल क्षति करिब सात लाख ४० हजार रुपैयाँ पुगेको प्रहरीले जनाएको छ।

महोत्तरीको सोनमा गाउँपालिका–३ स्थित दक्षिणबारी टोलमा दिनेश यादवको गोठमा मंगलबार बिहान आगलागी भएको थियो। आगोले गोठ पूर्ण रूपमा नष्ट हुँदा करिब तीन लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रारम्भिक अनुमान गरिएको छ।

यस्तै, काभ्रेको बनेपा नगरपालिका–१, दुलाल गाउँमा लक्ष्मण दुलालको गोठमा विद्युत् सर्ट भएर मंगलबार राति आगलागी भएको प्रहरीले जनाएको छ। उक्त घटनामा गोठ पूर्ण रूपमा जलेर करिब दुई लाख ४० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

उता, सप्तरीको कञ्चनरूप नगरपालिका–६, क्वाटर मलेठमा नवराज बस्नेतको गोठमा मंगलबार राति लागेको आगोले गोठ पूर्ण रूपमा ध्वस्त बनाएको छ। यस घटनाबाट करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रहरीले तीनवटै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। हालसम्म कुनै मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

Read More

वैदेशिक रोजगारीको प्रलोभनमा ३२ लाखभन्दा बढी ठगी गर्ने आरोपमा चार पक्राउ

काठमाडौं। आकर्षक तलब र रोजगारीको आश्वासन दिँदै विदेश पठाइदिने भन्दै विभिन्न व्यक्तिबाट ३२ लाख ३८ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१७ की ३२ वर्षीया पूजा शाही, सप्तरीको बोदेबरसाइन नगरपालिका–३ का २० वर्षीय दीपक साह, सर्लाहीको बसबरिया गाउँपालिका–३ का ४१ वर्षीय जयमङ्गलप्रसाद निसाद र रामेछापको मन्थली नगरपालिका–३ की ३७ वर्षीया मिना श्रेष्ठ रहेका छन्।

प्रहरीको अनुसन्धानअनुसार पूजा शाहीले बेलायत पठाइदिने आश्वासन दिँदै एक व्यक्तिबाट १७ लाख रुपैयाँ लिएकी थिइन्। त्यसैगरी दीपक साहले फ्रान्स पठाइदिने भन्दै पाँच लाख रुपैयाँ, जयमङ्गलप्रसाद निसादले ब्रुनाईमा रोजगारी दिलाइदिने भन्दै चार लाख ३८ हजार रुपैयाँ तथा मिना श्रेष्ठले संयुक्त अरब इमिरेट्स (यूएई) पठाइदिने भन्दै छ लाख रुपैयाँ ठगी गरेको आरोप छ।

प्रहरीले चारै जनालाई मंगलबार पक्राउ गरी वैदेशिक रोजगारीसँग सम्बन्धित ठगीको कसुरमा थप अनुसन्धान अघि बढाएको जनाएको छ। साथै, वैदेशिक रोजगारीका लागि जाने तयारीमा रहेका व्यक्तिलाई आधिकारिक प्रक्रिया र इजाजतप्राप्त म्यानपावर कम्पनीमार्फत मात्रै प्रक्रिया अघि बढाउन पनि आग्रह गरेको छ।

Read More

चिलीमा भीषण आँधी र वर्षाबाट १३ जनाको मृत्यु, हजारौं घर प्रभावित

काठमाडौं। चिलीमा आएको शक्तिशाली आँधीसहितको भारी वर्षाका कारण कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ठूलो क्षेत्र प्रभावित भएको छ। प्राकृतिक विपत्तिपछि उद्धार तथा राहत कार्यलाई तीव्र बनाउँदै प्रभावित क्षेत्रमा आधारभूत सेवा पुनः सञ्चालन गर्ने काम भइरहेको सरकारी अधिकारीहरूले बताएका छन्।

अधिकारीहरूका अनुसार आँधीका कारण ६० हजार किलोमिटरभन्दा बढी सडक क्षेत्रमा क्षति पुगेको छ। गत जुलाई १५ बाट देशको दक्षिणी भागबाट सुरु भएको खराब मौसमले विशेषगरी कोकिम्बो र अटाकामा क्षेत्रलाई प्रभावित बनाएको छ, जुन सामान्यतया सुख्खा क्षेत्रका रूपमा चिनिन्छन्।

चिलीको राष्ट्रिय आपतकालीन सेवा (सेनाप्रेड) की निर्देशक एलिसिया सेब्रियनले पत्रकार सम्मेलनमार्फत घटनामा १३ जनाको मृत्यु भएको पुष्टि गरेकी छन्। उनका अनुसार सात जना अझै बेपत्ता रहेका छन्।

भारी वर्षाका कारण करिब २ हजार ८०० घरमा क्षति पुगेको छ। बाढी, हिलो र अवरुद्ध नदी तथा सडकका कारण विभिन्न शहरहरूमा जनजीवन प्रभावित भएको सरकारले जनाएको छ।

स्थानीय बासिन्दाहरूले आँधीले असामान्य आपतकालीन अवस्था सिर्जना गरेको बताएका छन्। कोकिम्बोकी अधिकारी प्याट्रिसिया अलबोर्नोजलाई उद्धृत गर्दै एएफपीले नदीहरूमा तीव्र गतिमा बाढी आएको जनाएको छ।

आन्तरिक मन्त्री क्लाउडियो अल्भाराडोले वर्षा क्रमशः कम हुने अनुमान गरिए पनि नदी र खोलाहरूमा पानीको बहाव उच्च रहेकाले जोखिम अझै कायम रहेको बताएका छन्।

प्राकृतिक विपत्तिबाट प्रभावित क्षेत्रको अवस्थालाई ध्यानमा राख्दै राष्ट्रपति जोस एन्टोनियो कास्टले आपतकाल घोषणा गरेका छन्। सरकारले उद्धार, राहत वितरण र प्रभावित नागरिकको सुरक्षा व्यवस्थालाई प्राथमिकतामा राखेको जनाएको छ।

Read More

अन्नपूर्ण पदमार्गमा लेक लागेर एक वर्षमा २५ पर्यटकको मृत्यु, उच्च क्षेत्रमा सतर्कता अपनाउन आग्रह

काठमाडौं । अन्नपूर्ण पदमार्गमा उचाइसँग सम्बन्धित स्वास्थ्य समस्या (लेक लाग्ने) का कारण एक वर्षको अवधिमा २५ जना पर्यटकको मृत्यु भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार आर्थिक वर्ष २०८२/८३ मा पदयात्राका क्रममा नेपाली तथा विदेशी पर्यटकले ज्यान गुमाएका हुन्।

मृत्यु हुनेमा १२ जना नेपाली, नौ जना भारतीय तथा जापान, मेक्सिको, स्पेन र सिङ्गापुरका एक–एक जना पर्यटक रहेका छन्। तथ्याङ्कअनुसार मुस्ताङमा सबैभन्दा बढी १५ जनाको मृत्यु भएको छ भने मनाङमा आठ जना, अन्नपूर्ण आधार शिविर क्षेत्रमा एक जना र मर्दी हिमाल क्षेत्रमा एक जनाले ज्यान गुमाएका छन्।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार मृत्यु भएका नेपालीमध्ये चार जना पथप्रदर्शक तथा भरिया रहेका थिए। लेक लाग्नु बाहेक पदयात्राका क्रममा भएको लडाइँ तथा अन्य दुर्घटनाबाट पनि पाँच जना पर्यटकको मृत्यु भएको छ।

मनाङमा भारी हिमपातका कारण एक भारतीय पर्यटकको मृत्यु भएको थियो भने एक अष्ट्रेलियाली पर्यटकको हिमलुङ हिमाल आरोहणपछि फर्कने क्रममा ज्यान गएको थियो। त्यस्तै, मर्दी हिमाल क्षेत्रमा एक नेपाली पदयात्री र म्याग्दीको खोप्रा लेकमा एक जर्मन नागरिकको मृत्यु भएको आयोजनाले जनाएको छ।

मुस्ताङ र मनाङका उच्च भेगमा लेक लाग्ने समस्या बढी देखिने गरेको छ। विगतका वर्षको तुलनामा पनि यस्तो जोखिम निरन्तर देखिएको छ। आर्थिक वर्ष २०८०/८१ मा २१ जना र २०८१/८२ मा १९ जना पर्यटकको लेक लागेर मृत्यु भएको थियो।

आयोजना प्रमुख कडरियाका अनुसार सडकमार्गबाट छोटो समयमा मुक्तिनाथलगायत उच्च स्थानमा पुग्ने पर्यटकमा पनि उचाइको समस्या देखिने गरेको छ। उनले हिमाली क्षेत्रमा यात्रा गर्दा शरीरलाई बिस्तारै उचाइसँग अभ्यस्त गराउन, पर्याप्त आराम गर्न र समस्या देखिए तत्काल तल्लो उचाइतर्फ फर्कन सुझाव दिएका छन्।

“उच्च पहाडी तथा हिमाली क्षेत्रमा जाँदा एकैपटक धेरै उचाइ पार गर्नु हुँदैन। विश्राम लिँदै यात्रा गरेमा जोखिम कम हुन्छ,” उनले बताए।

पदयात्राका क्रममा हुने दुर्घटना रोक्न एक्लै यात्रा नगर्न र आवश्यक परे अनुभवी पथप्रदर्शकको सहयोग लिन सुझाव दिइएको छ। पथप्रदर्शक दिवस गुरुङका अनुसार कम उचाइबाट अचानक उच्च क्षेत्रमा पुग्दा लेक लाग्ने सम्भावना बढ्ने भएकाले क्रमिक रूपमा उचाइ बढाउँदै जानु सुरक्षित उपाय हो।

पर्यटकलाई पदयात्राका क्रममा दैनिक ५०० मिटरभन्दा बढी उचाइ नबढाउन र स्थानीय वातावरणसँग अनुकूल हुन पर्याप्त समय दिन आग्रह गरिएको छ।

Read More